लमजुङ– भारी वर्षासँगै दोर्दीखोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ।
आज दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। बाढीका १२ जना बेपत्ता रहेका छन्।
प्रहरीका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन। आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ।
उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको छ। केही कामदार पुरिएको आशङ्का गरिएको छ ।
घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





