बाढी र डुवानको स्थायी समाधानका लागि कूटनीतिक पहल गर्न सांसदको माग

काठमाडौँ– विभिन्न राजनीतिक दलका सांसदले तराई मधेशमा पछिल्लो समय देखिएको बाढी र डुवानको स्थायी समाधानका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

बाढीपहिरोबारे संघिय संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा आज (बुधबार) प्रतिनिधिसभामा भएको छलफलमा उनीहरुले यस सम्वन्धमा भारतसँग कुराकानी गर्नुपर्नेमा जोड दिए। साथै, पहाडमा विकासको नाममा जथाभावी डोजर चलाउने र अन्य पूर्वाधार निर्माण गर्नाले पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी, बाढी र पहिरोको जोखिम न्यूनीकरणका लागि सरकारले पूर्व तयारी नगरेको भन्दै उनीहरुले सरकारलाई पूर्व सूचना प्रणालीको विकास गर्न आग्रह गरे। प्रतिपक्षी दल नेपाली काँङग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले बाढी, पहिरोले पु–याएको क्षति र राहत र उद्धारको अवस्थाबारे छलफल गर्न १ गते राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।

अविरल वर्षाबाट मुलुकभर भएको धनजनको क्षति र त्यसमा आहत भएकालाई अल्पकालीन र दीर्घकालिन उचित राहत दिन आवश्यक भएको ठहर गदै सो प्रस्ताव दर्ता गरिएको थियो। संसदमा साँसदले व्यक्त गरेको धारणा उनीहरूकै शब्दमा:

शेरबहादुर देउवा: बाढी र डुवानको स्थायी समाधानका लागि सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्छ । बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान हुँदैन् । डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कूटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्छ । नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ? कूटनीतिक तरिकाले कुरा गरेर सधैका लागि समस्या समाधान गर्नुपर्छ । एकले अर्कोलाई गाली गरेर हुँदैन । घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो तर केही गरेको छैन । बरु विदेशी एनजिओले गरेका छन् । सरकार भनेको दुःख परेको बेला चाहिने होे यस्तो भयावह स्थितिमा सरकारले ध्यान दिनुपर्छ ।

*****

योगेश भट्टराई: देशलाई विपत्तबाट जोगाउन सबै राजनीतिक दलहरु एक हुनुपर्छ । हामी विनाशकारी भुकम्पपछि एक भएका थियौ, अव विपतबाट जोगाउन फेरी एक हुनुपर्छ । भारतले सिमाना बनाएका संरचनाले तराई डुबेको छ । त्यसैले यो विषयको समाधान सरकारले निकाल्नुपर्छ । पहाढमा जथाभावी संरचना बनाउँदा पहाड खसेको छ । भारतले सीमामा बनाएको संरचनाले तराई डुबेको छ । यसमा सरकारले चासो दिनुपर्छ । भारतले पनि नेपाली जनताको मृत्युप्रति नजरअन्दाज नगरोस । सरकाले बाढीपछि उद्धार र राहतमा तदारुकता देखाएको छ ।

*****

इन्दु कुमारी शर्मा: अविरल वर्षाका कारण बाढी पहिरोले देशैभरी जनधनको क्षति भएको छ । पहाडमा पहिरो र मधेशमा बाढीका कारण सयौं नागरिकको मृत्यु भएको छ । ह्जारौं नागरिक घाइते भएका छन्, धेरै संख्यामा बेपत्ता भएका छन् । यो अवस्था हामीले वर्षेनै झेल्नु परेको छ । यो क्षणिक होइन र यो प्रस्ताव माननीय प्रभु शाहले जुन प्रस्ताव राख्नु भएको छ, त्यसमा मेरो पूर्ण सर्मथन छ । प्रतिपक्षले यो प्रस्ताव दर्ता गरेपनि मेरो यसमा समर्थन छ । वर्षेनी यस्ता विपद्हरू हामीले झेल्नु परेको छ । प्राकृतिक प्रकोप आजमात्र होइन हामीले यस्तो घटना वर्षेनी भोग्दै आएका छौं र विपद्पछि मात्र तदरूकता देखाउछौं । विपद्लाई हामी रोक्न सक्दैनौं तर हामी यसलाई न्यूनीकरण गर्न सकिन्छ । तसर्थ, हामीले यसलाई न्यूनीकरण गर्नको लागि ध्यान दिनुपर्ने कुरा के छ भने पहाडमा चाही अहिले विकासको नाममा डोजर आतंक मचाइएको छ । मापदण्ड विपरीत जहाँ मन लाग्यो त्यही डोजर प्रयोग गरेको हुँदा पनि मलाई लाग्छ यो मलिलो माटो भूकम्प आइसकेपछि धेरै ठाउँहरू अहिले जरजर भएको हुँदा त्यहा धेरै पहिरो गएको छ । यस्तै प्रदेश नं २ अहिले डुवानको चपेटामा परेको छ । मधेशको मेरुदण्डको रूपमा रहेको चुरेको चरम दोहन र अतिक्रमण गरिएको छ । मापदण्ड विपरीत नदीका छेउछाउबाट गिट्टी बालुवा उत्खन्नन् भईरहेको छ । विकासका नाममा ठूलठूला वन विनाशहरू भइरहेका छन् । यस्ता तस्करहरूलाई सरकारले कारबाही गर्नुपर्छ र यसको न्यूनीकरणको लागि दीर्घकालीन योजनाहरू बनाउनु पर्छ ।महोत्तरी जिल्ला पनि अहिले पुरै डुवानको चपेटामा परेको छ । दर्जनौं मानिसको मृत्यु भएको छ। त्यस क्षेत्रमा राहत उद्धार प्रभावकारी भएको छैन भन्ने गुनासो आइरहेको छ । तसर्थ म सरकारलाई देशभर भइरहेको यस्ता विपद्हरूलाई तदरूकता देखाई राहतमा सरकारको ध्यान दिन आग्रह गर्छु ।

*****

प्रेम सुवाल: डुवान र पहिरोले नेपाली जनताको जनधजको क्षति भइरहेको छ । यसको कारण के हो ? भारतले अन्तर्राष्ट्रिय कानून र अभ्यास विपरीत नेपालको सिमानामा पाँच दर्जन भन्दा बढी बाध र तटबन्ध बनाएको कारण वर्षीनै नेपालको तराइको भूभाग डुवानमा पर्ने र जनधनको क्षति हुने भइरहेको छ । अन्तर्राष्ट्रिय कानूनको अनुुसार सिमानाको अर्को तर्फ पानीको सतह थपिने गरी छिमेकी देशले संरचना बनाउन पाउदैन्। भारतले एकतर्फी संरचना बनाउन नपाउने सम्झैता भएको पनि छ । भारतले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत बनाएको बाध र तटबन्ध भत्काउनु जरूरी छ । यतातर्फ प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । दुई तिहाईको वर्तमान सरकारले समेत नेपाली भूमी डुवान रोक्न कुनै पनि कुटनीतिक पहल गर्न सकेन । पहाडमा पहिरोको कारण वन विनास र डोजर हो । चुरे दोहन गरी गिट्ट ढुङगा बालुवा भारत निकासी भएकाले पनि पहिरो गईरहेको छ । काठमाडौं उपत्यकाका नदीनाला अतिक्रमण गरी आवास विस्तार गरिएकाले वस्ती डुवानका परेको हो। नदी वस्तीमा पसेको होइन नदी भित्र बस्ती बसालिएको हो। देशको सन्तुलित विकास तर्फ म सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।

*****

सरिता गिरी: यो वर्ष त्यस्तो धेरै पानी आएको छैन । १० वर्ष अगाडि यो भन्दा धेरै पानी परेको थियो तर यस्तो बाढी आएको थिएन् । त्यस्तो कुनै बादल फुटेको पनि छैन । यो किन यस्तो भइरहेको छ भन्दा प्रकृतिको आफ्नो नियम हु्न्छ । प्रकृतिले मानिसलाई वृद्धि दिएको छ । तर मानिसले त्यसको प्रयोग राम्रोसंग गर्दैन् भने र राज्य सञ्चालन गर्नेहरूले प्रयोग गर्दैनन् भने आम जनता भाग्यलाई दोष दिँदै दुख पाएर बस्छन् । नेपालको अवस्थामा पहाडमा पहिरो र तराईमा बाढीको कारण मैले भन्नु पर्दा जल श्रोतको वैज्ञानिक व्यवस्थापन गर्न नसक्नु, चुरे क्षेत्रको विनाश, आवासको लागि व्यवस्थीत सहरीकरणको काम नगरेका कारण हरेक वर्ष नेपालले विप्दको सामना गर्नु परेको हो।

ताजा समाचार

सम्बन्धित समाचार