वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिँदै २ बिघामा रोपियो ९ सय बिरुवा

महेन्द्रनगर – कृष्णपुर नगरपालिका–८ मा रहेको विरेन्द्र सामुदायिक वनमा वृक्षरोपण गरिएको छ। सामुदायिक वनको आयोजनामा बेल, विजय साल, सागवान, अनार, कोइराल, सिसमलगायतका बिरुवा रोपिएको हो।

करिव २ बिघा क्षेत्रफलमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, प्रदेशसभा सदस्य महेशदत्त जोशी, प्रमुख जिल्ला अधिकारी शुशिल वैद्य, डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरलगायत सामुदायिक वनका उपभोक्ताले बिरुवा रोपेका हुन्।

सामुदायिक वनमा ९ सय बिरुवा रोपिएको वनका अध्यक्ष रोजेन्द्र अवस्थीले बताए। उनले सामुदायिक वनमा १५ सय बिरुवा रोप्ने लक्ष्य रहेको बताए । ‘खाली जग्गामा बिरुवा रोपिरहेका छौं, यो वर्ष १५ सय बिरुवा रोप्छौं,’उनले भने।

वैज्ञानिक वन व्यवस्थापन राम्रो छ : राज्यमन्त्री रावल
वन संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापन महत्वपूर्ण भएको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावले बताए । वृक्षारोपण कार्यक्रममा बोल्दै राज्यमन्त्री रावलले कञ्चनपुरका सबै सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

‘वैज्ञानिक वन व्यवस्थापनको अवधारण राम्रो छ, यो कार्यक्रमलाई सबै वनमा लागु गर्नु आवश्यक छ,’ उनले भने। कञ्चनपुरका १० वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यस्थापन कार्यक्रम सञ्चालन भएको छ। १० मध्ये ७ मा कार्यक्रम कार्यान्वयन भएको छ भने ३ सामुदायिक वनमा कार्यान्वयन हुने तयारीमा छ। उनले सुदूरपश्चिम प्रदेश सरकारले वृक्षारोपण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरेको बताए।

‘संघीय सरकारको अभियानलाई हामीले यहाँ पनि निरन्तरता दिएका छौं, सार्वजनिक स्थल तथा खाली जग्गामा बिरुवा रोप्ने कार्य भइरहेको छ,’राज्यमन्त्री रावलले भने,’‘हामी सबैले विरुवाको संरक्षणमा पनि जोड दिनुपर्छ।’

बिरुवा संरक्षणमा जोड दिऔं : वन अधिकृत मानन्धर
डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले विरुवा रोपेर त्यसै नछाड्न सामुदायिक वनका पदाधिकारीलाई आग्रह गरेका छन्। उनले बिरुवाकोे रेखदेख तथा संरक्षणमा जोड दिन अनुरोध गरे। ‘बिरुवा रोप्नु ठूलो कुरा होइन्, संरक्षण गर्नु ठूलो हो, यहाँ बिरुवा रोपिन्छ, संरक्षणमा कसैले चासो दिदैनन्,’ उनले भने, ‘अब ५ बिरुवा रोप्ने व्यक्तिले १ बिरुवा रोपौं, संरक्षणमा ध्यान दिऔं।

 बिरुवाको संरक्षणमा धेरै चुनौती रहेको उनको भनाई छ। उनले अहिले डिभिजन वन कार्यालय कञ्चनपुरले बिरुवा वितरण गरिरहेको बताए । ‘गत आर्थिक वर्षमा विभिन्न नगरपालिका तथा गाउँपालिकाको सहयोगमा उत्पादन गरेका बिरुवा वितरण गरिरहेका छौं,’ उनले भने,‘यस वर्ष ७ लाख ५० हजार बिरुवा रोप्दैछौं।’

ताजा समाचार

सम्बन्धित समाचार