काठमाडौँ– पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिएका छन्।
सङ्घीय संसद् राष्ट्रियसभाको आज (बुधबार)को बैठकमा सांसदहरूले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको सांसदहरुको भनाइ थियो ।
सांसद दिलकुमारी रावल थापाले असार २६ गतेपछिको अविरल वर्षाले आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै पहिले नै तयारी नगर्दा क्षति कम गर्न नसकिएको बताइन्।
पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाई नागरिकलाई पनि सचेत र जागरुक बनाइनुपर्ने उनले माग गरिन्।
सांसद कोमल वलीले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोका कारण केही घरका मानिस अझै विद्यालयमा आश्रय लिइरहेकाले उनीहरुको उचित व्यवस्था गर्न सरकारसँग माग गरिन् । मृतकका परिवारलाई राहत र घर बगाएकालाई आश्रयको व्यवस्था गरिनुपर्ने सांसद वलीको माग थियो ।
जलवायु परिवर्तनले जुनसुकै बेला हिमताल फुट्नसक्ने भएकाले पूर्वतयारी गर्न पनि सांसद वलीले माग गरेकी छन्। भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्रकोपको पूर्वतयारी सरोकार भएका निकायले गर्नुपर्ने पनि उनको माग थियो ।
सांसद जीतेन्द्रनारायण देवले बाढी पहिरो प्रत्येक वर्ष नियमित आकस्मिक जस्तै हुने गरेकाले सरकारले रचनात्मक छलफलको विषय बनाई एउटा सहमतिमा पुग्नुपर्ने बताए।
सांसद सुमनराज प्याकुरेलले बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका कारण खाद्यान्न अभाव हुनसक्ने देखिएकाले राहतका प्याकेजको व्यवस्था गर्नुपर्ने बताए । चुरेको दोहन, चुरे क्षेत्रमा हुने काममा धेरै भ्रष्टाचारलगायतका कारणले बाढी र डुबानको समस्या तराई मधेशमा हुने गरेको उनको भनाई थियो।
सांसद रामनारायण विडारीले पूर्व–पश्चिम राजमार्गलगायत देशभरका राजमार्गमा सवारी हिँड्ने ठाउँ भए पनि मानिस हिँड्ने ठाउँ नभएकाले दुर्घटना बढ्ने गरेको बताए।
पैदल हिँड्नेका लागि त्रिपुरेश्वर थानकोट सडकमा ६ इञ्चको मात्र पेटी राखिएकाले सडक दुर्घटना बढाएको यनको भनाई थियो। पैदलयात्रीका विरुद्ध सडक बनिरहेकाले सच्याइनुपर्नेमा सांसद विडारीको जोड थियो ।
सांसद मीना बुढाले बाढीपहिरोलगायत समस्या आउनुपूर्व नै पूर्वतयारी, सूचना दिने व्यवस्थित प्रणालीको विकास गरे कम क्षति हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन्।





