Friday, September 27, 2024

पहिरोको त्रासमा नवदीप आधारभूत विद्यालय

बाग्लुङ– वर्षासँगै गए राती खसेको पहिरोले गलकोट नगरपालिका–९ बाङ्गेसल्लास्थित नवदीप आधारभूत विद्यालयको भवन चर्किएको छ । कक्षा कोठाभित्र ढुङ्गासहितको लेदो पसेको प्रअ वसन्ती फुल्देलले बताइन् ।

पहिरोको त्रासले पठनपाठनसमेत प्रभावित बनेको छ । “वर्षा भइरह्यो भने यहाँ बस्न सक्ने अवस्था छैन”, प्रअ फुल्देलले भनिन्, “चारैतिर पहिरोको जोखिम छ ।”

पठनपाठन व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिबीच छलफल चलिरहेको छ । रातो माटो र भिरालो जमीन भएका कारण विद्यालयमा पहिरोको जोखिम बढेको हो । विद्यालय परिसरमा जम्मा हुने आकाशे पानीको समेत उचित निकास छैन ।

विद्यालय तलपट्टिको ‘ग्याबिन’ जालीमा पनि पहिरोले असर पु¥याएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा बनेको दुई कोठे पक्की भवन पहिरोको जोखिममा परेपछि गाउँले चिन्तित छन् ।

पुरानो चार कोठे भवन जीर्ण अवस्थामा छ । वडाध्यक्ष तेजबहादुर थापाले विद्यालयको समस्याबारे नगरको शिक्षा शाखामा जानकारी गराइएको बताए । जोखिमकै अवस्थामा बालबालिकालाई पठनपाठन गराउन नहुने थापाले उल्लेख गरे ।

“प्रअसँग कुरा हुँदा बरु केही दिन विद्यालय बन्द गरौँ भनेको छु”, उनले भन्नुभयो, “विद्यालय मर्मत सुधारमा वडाले सहजीकरण गर्छ ।” तत्कालका लागि पुरानै जीर्ण भवनमा राखेर भए पनि बालबालिकाको पढाइ नियमित गर्ने योजनामा विद्यालय छ ।

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या भने न्यून छ । सोमबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो निम्ताएको छ । आजै बिहान पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा गएका पहिरोले सवारी आवागमन प्रभावित बनेको छ । लोकमार्गको गलकोट, मल्मस्थित अम्रिसेखोलामा खसेको पहिरो हटाएपछि अहिले यातायात सञ्चालन भएको छ ।

पहिरोले अवरुद्ध भएका ठाउँमा तत्काल सडक खोल्न प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताउए। बाढीपहिरोजस्ता विपद्का घटनामा उद्धार तथा राहतका लागी जनप्रतिनिधि पनि उत्तिकै सक्रिय छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार