गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सत्यवती गाउँपालिका वडा नं २ र ३ ठूलोलुम्पेक र वडा नं ४ लिम्घामा घर पुरिँदा ८ जनाको मृत्यु भएको हो। पहिरोले पुरिएर २ जना सामान्य घाइते भएको पौडेलले जानकारी दिए।
‘पहिरोका परी दुई जना बेपत्ता भएका छन्,’ उनले भने, ‘उहाँहरूको खोजी कार्य जारी छ।’
राहत, उद्धार र खोजी कार्यको लागि सबै सुरक्षा निकायहरू खटिएको उनले बताए। लगातर वर्षाबाट हुन सक्ने सम्भावनालाई कम गर्न पहिरो जोखिम क्षेत्रका स्थानीय साथै पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले जानकारी दिए।
सत्यवती–४ भिरकुनामा पहिरोमा घर पुरिँदा मृत्यु हुनेमा २५ वर्षीया पम्फा विक, २५ वर्षीया निर्मला विक, ७ वर्षीया सिमनी विक, ६० वर्षीया छलि विक, १२ वर्षीया अन्जली विक र १० वर्षीय हेमन्त विक रहेको विपद् सूचना केन्द्र गुल्मीले जानकारी दिएको छ।
यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा २५ वर्षीया लिकुमारी तरामु र दपर्ण तरामुको मृत्यु भएको हो। पहिरोमा घर पुरिँदा १० वर्षीया करिष्मा तरामु र १३ वर्षी धने तरामु घाइते भएका छन् ।





