काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
गोरखापत्र
-आजको गोरखापत्रमा खोलाले बाटो खोज्दा… भन्ने शीर्षकमा शान्ति लामाको समाचार छापिएको छ। गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग¥यो। त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए । त्यही बाढी कलङ्की शान्तिनगरस्थित जनपथ माध्यमिक विद्यालयको भवनभित्र पनि छि¥यो ।
-तापमान वृद्धिले कतिपय चरा सङ्कटमा भन्ने शीर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। हिमालमा बस्ने तिलहरी चरा यतिबेला बचेरा हुर्काउन व्यस्त छन् । फुस्रो खरानी रङको यो चराको घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएकोे हुन्छ । रातो लामो चुच्चो (ठुँडो) र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ । त्यसैले पनि यसको नाम चिलहरी चरा भन्ने गरिन्छ । बढ्दो तापक्रमका कारण तिलहरीलाई बचेरा कोरल्नै हम्मे पर्ने गरेको छ । करिब चार हजारदेखि चार हजार दुई सय मिटरमाथिका हिमाली भेगका हिउँ नदी छेउछाउ र खुला टापुमा यिनले अण्डा पार्छन् ।
-समृद्ध नगरपालिका बनाउन रणनीति तयार भन्ने शीर्षकमा नगेन्द्र सापकोटाको समाचार छापिएको छ। पाल नगरपालिका सङ्घले देशभरका नगरपालिकालाई सबल र समृद्ध बनाउने गरी पाँच वर्षे रणनीतिक योजना बनाएको छ । सङ्घले छवटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिकालाई व्यवस्थित सहरीकरण निर्माण गर्ने गरी रणनीतिक योजना बनाएको हो । पूर्व मुख्यसचिव डा। सोमलाल सुवेदीसहितको विज्ञ टोलीले नगरले प्रवाह गर्ने सेवा, सुशासन, विकास निर्माण र आधुनिक सहर निर्माणका लागि पाँच वर्षे रणनीतिक योजना बनाएको हो ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा ११ साउनमा लगाउन तयार खोप पानीले डुबायो भन्ने शीर्षकमा अर्जुन अधिकारीको समाचार छापिएको छ। असार २८ र २९ गतेको वर्षापछि आएको बाढीले महोत्तरीमा बालबालिकालाई लगाउन तयार राखिएको भ्याक्सिन बिगारेको छ । महोत्तरी स्वास्थ्य कार्यालयभित्र पसेको पानीले त्यहाँको स्टोरमा राखिएका विभिन्न प्रकारका आठ हजार आठ सय तीनवटा खोप डुबेको हो । ठूलो मात्रामा भ्याक्सिन नष्ट भएपछि साउन ११ गतेदेखि लगाइने नियमित खोप प्रभावित हुने देखिएको छ ।
-अपर तामाकोसीको २७.५ मिटर पेनस्टक जडान भन्ने शीर्षकमा समाचार छापिएको छ। अपर तामाकोसी जलविद्युत् आयोजनाको ६ सय ८२ मिटर लामो ठाडो सुरुङमध्ये २७।५ मिटरमा पेनस्टक पाइप जडान भएको छ । आयोजनाका दुई सुरुङमध्ये ३ सय ७२ मिटर गहिराइको माथिल्लो तल्लो ठाडो सुरुङमा २० मिटर पाइप जडान गरिएको छ । त्यस्तै, ३ सय १० मिटर गहिराइको तल्लो ठाडो सुरुङमा ७।५ मिटर पाइप जडान गरिएको आयोजना प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ४ सय ५६ मेगावाटको आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यलाई सबैभन्दा जटिल मानिएको छ ।





