काठमाडौँ– सभामुख कृष्णबहादुर महराले चीनले प्रविधिका क्षेत्रमा प्राप्त गरेको सफलता र चिनियाँ राष्ट्रपति सी चिन फिङले अगाडि सारेका वातावरण संरक्षणसम्बन्धी अवधारणाबाट आफू निकै नै प्रभावित भएको बताएका छन्।
चिनियाँ राष्ट्रिय जनकँग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले आज सोमबार गरेका शिष्टाचार भेटका क्रममा सभामुख महराले भने, “राष्ट्रपति सीले अघि सार्नुभएको ‘नीलो आकाश, हरियो चौर र सफा पानी’को नीति निकै महत्वपूर्ण छ र यसबाट हामीले पनि सिक्न सक्छौँ ।”
चीनले वायु प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापनजस्ता कार्यमा प्रयोग गरेको प्रविधि नेपाललाई पनि निकै फाइदाजनक हुने भन्दै उनले त्यसका लागि चीनले नेपाललाई प्राविधिक सहयोग गर्नेमा आशा व्यक्त गरे । सङ्घीय संसद्का तर्फबाट आफूहरुले नेपाल–चीन संसदीयमैत्री समूह गठन गरिसकेको भन्दै सभामुख महराले संसदीय मैत्री समूहले दुई देशको संसदीय तथा राजनीतिक अनुभव आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सो अवसरमा चिनियाँ राष्ट्रिय जनकँग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले यहाँको प्राकृतिक स्रोत साधन तथा वातावरणको संरक्षणका लागि भएका कार्य, कानूनी व्यवस्था तथा अभ्यास आफूहरुले सिक्न इच्छुक रहेको बताए ।
चीनले अर्थतन्त्र, राजनीति, संस्कृति, समाज र पर्यावरण गरी पाँच वटा क्षेत्रलाई मुख्य विषय बनाएर अघि बढिरहेको भन्दै उनले पर्यावरण संरक्षणमा विशेष महत्व दिइएको बताए ।
भेटमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, सचिव भरतराज गौतमलगायतको टोली सहभागी थियो भने चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष चेङसहित नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छी र भ्रमण दलका सदस्यहरुको सहभागिता थियो ।
–––





