पानी छलफलले फेरिएको पिली गाउँ

कालिकोट – द्वन्द्वको चपेटामा परेको पिली गाउँ विकास निर्माण र पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको छ। खासगरी सुख्खापन र पानीको समस्याले ग्रसित उक्त स्थानमा वडा कार्यालय सहित स्थानीयहरू पानीका मुहान संरक्षण, वृक्षरोपण, पोखरी निर्माण र वैकल्पिक उर्जा तर्फ अग्रसर भइरहेका छन्।

विगतमा मानवीय गतिविधिकै कारण पानीको समस्या आइपरेको हो भन्ने महसुस नगरेका पिलिबासीले नेपाल वातारण पत्रकार समूह (नेफेज)ले गत वर्ष मंसिर ८ गते खाडाचक्र नगरपालिका वडा नम्बर ८ पिलीमै सुक्खापन र पानीको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा पानी छलफल सञ्चालन गरे पश्चात उक्त कुराको महसुस गरेको वडा नम्बर ८ का वडाध्यक्ष रज बहादुर मल्ल बताउँछन्।

नेपाल वातावरण पत्रकार समूहको आयोजनामा ‘सुख्खापन र पानीका मुहान सुक्ने समस्या’ भन्ने बिषयमा गरिएको छलफलमा आफूहरूले जनाएको प्रतिबद्धता अनुसारको कामे गरिरहेको र आफूहरूलाई स्थानीयहरूले पनि साथ दिइरहेको उनको भनाइ छ।

विगतमा जस्तो अहिले वन जंगल नहुनु, पानीका मुहानहरू सुक्दै जानु, खडेरी पर्नु लगायतका समस्याहरू जलवायु परिवर्तनका कारण भइरहेकाले अहिले पिलि गाउँका मानिसहरू जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा निकै सम्वेदनशील भएको उनले बताए । मानवीय गतिविधिका कारण प्रकृतिको सन्तुलन बिग्रिरहेका कारण जलवायु परिवर्तनबाट बच्न र त्यससँग जुध्न अनुकलनका कार्यक्रमहरू गर्नु जरुरी ठानी स्थानीयहरु त्यस कार्यमा लागिरहेका छन्। त्यसका लागि आफ्नो क्षेत्रबाट हुन सक्ने प्रयासहरू आफूहरूले गरिरहेको वडाध्यक्ष मल्लले बताए।

अहिले आफ्नो वडाका स्थानीयहरू पानीका स्रोतको जर्गेना, सुख्खापन हटाउनका लागि वृक्षरोपण जस्ता कार्यमा जुटिरहेका छन्।

खुख्खा डाडाँमा रुख रोपिँदै
खुख्खा डाँडामा रहेका पिलिको माथिल्लो भागमा वृक्षरोपण गरेर वडालाई हरियाली बनाउने योजना वडाले लिएको छ। गाउँमा भएका रुखहरू कटान हुँदै गएको र नयाँ बिरुवा उम्रन समस्या हुन थालेकाले नयाँ वृक्षरोपण गरिएको वडा कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा सुख्खा डाडाँमा २५ हजार सल्ला र टिमुरका विरुवा रोपिएको र यो आर्थिक वर्षमा थप बिरुवा रोप्ने तयारी भएको वडा सदस्य पुत्रबहादुर मल्लले बताए । ‘गत आर्थिक वर्षमा २५ हजार सल्ला र टिमुरका विरुवा रोपेको थियौं,’ उनले भने,‘रोपिएका अधिंकाश बिरुवा बाँचेका छन् । यो आर्थिक वर्षमा पनि थप विरुवा रोप्ने योजना बनाएका छौं ।’

घर घरमा खानेपानीको धारा
पिली गाउँमा घर घरमा खानेपानीको धाराको अवधारण अघि सारिएको छ। अहिले पिली गाउँको १ सय ५० घरमा खानेपानीको धारा रहेका छन्। सशस्त्र द्वन्द्वको समाप्ती पछि स्थानीय जनप्रतिनीधि पाएको र अहिले यहाँको विकासमा फड्को मार्न थालेको स्थानीय अनिल कार्कीले बताए। ‘सशस्त्र द्वन्द्वका समाप्तीपछि अहिले स्थानीय जनप्रतिनिधिहरू आएका छन्।’

पिलीमा पानी छलफल कार्यक्रमले दिमाग खोलीदिएको बताउँदै वडाध्यक्ष मल्लले अहिले पिलीका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको बताए। ‘केही आर्थिक सहयोग हुरन्डेक संस्थाले गरेको थियो । अरु सबै स्थानीयको पहलमा भएको हो,’ उनले भने,‘अहिले सबै घरधुरीमा खानेपानीको धारा छ।’

सिंचाईका लागि पोखरी बन्दै
गाउँमा सिंचाईको सुविधा नभएका कारणले हिउँदे बाली उत्पादनमा समस्या भए पछि वडा कार्यालयको पहलमा अहिले गाउँको सिरानमा १६ लाख लिटर अटाउने पोखरी बनाउन गाउँलेहरू कस्सिएरका लागेका छन्।

वडा कार्यालयले पोखरी बनाउनका लागि गत साल २५ लाख यो आर्थिक वर्षमा २५ लाख बजेट छुट्याएर पोखरी बनाइ गाउँमा सिंचाईको सुबिधा दिन थालिएको वडा सदस्य पुत्रबहादुर मल्लले बताए । ‘गाउँमा सिंचाई सुविधा नभएका कारणले खेतहरू बाँझै छन्,’ उनले भने, ‘त्यो समस्या समधान गर्नका लागि गाउँको सिरानमा १६ लाख अटाउने सिंचाई पोखरी बनाउँदै छौं ।’

घरमा घरमा गोबर ग्याँस
गाउँमा खाना पकाउने दाउराको समस्या भएका कारण स्थानीयले अहिले घर घरमा गोबर ग्याँसको प्रयोग गर्न थालेका छन्। नजिकै वन जंगल नभएका कारणले खाना पकाउने दाउराको समस्या हुन थालेपछि गोबर ग्याँसमार्फत खाना पकाउन थालेका हुन्।

नजिकै वन जंगल नभएको भएको जंगल मासिदैँ जान थालेपछि अहिले सबै घरधुरीमा गोबर ग्याँसको चुलो जडान गर्न वडाले विभिन्न संस्थाको सहयोगमा काम थालेको वडा सदस्य मल्लको भनाइ छ । ‘अहिले हामीले प्रत्येक घरमा गोबर ग्याँस अनिवार्य बनाउन भनेको छौं,’ उनले भने, ‘अहिले अधिंकाशको घरमा गोबर ग्याँसबाट खाना पाक्ने गरेको छ ।’

स्थानीयमा चेतना आएका कारण संरक्षणका क्षेत्रमा काम गर्न सहज भएको जनप्रतिनिधिहरू बताउँछन् । नेपाल वातावरण पत्रकार समूह नेफेजले गत वर्ष मंसिर ८ गते गरेको पानी छलफलमा स्थानीयल १० बुँदे प्रतिबद्धता जनाएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार