धनगढी– धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्न योजना अगाडि सारेको छ।
उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने भएको हो।
सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न उपमहानगरपालिकाले जनाएको छ।
‘वडा नं. ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हुँदै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ,’उपमहानगरपालिकाका मेयर नृप वड भने।
त्यस्तै मेयर वडले खोलानालाको किनारामा भएको अतिक्रमण हटाई खाली जग्गामा यो आर्थिक वर्षमा हरियाली पार्क निर्माण गरिने समेत जनाएका छन्।
धनगढी उप–महानगरपालिका अन्तर्गत वडा नं. ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ती, सार्वजनिक जग्गामा रहेको वनलाई वृहत धनगढी पार्क निर्माणका लागि डिपीआर तयार पारी काम अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले धनगढी क्षेत्रभित्र रहेका सार्वजनिक जमिन, तथा खोला नालामाथि भइरहेको अतिक्रमण हटाउनका लागि ‘अतिक्रमण हटाऊ अभियान २०७२’सुरु गरेको थियो।
प्रत्येक वर्ष नयाँ नयाँ सडक बन्दै छ। भएका सडक चौडा पारिदैछ। तर, त्यसमा साइकल लेन बनाउने योजना कतै भेटिँदैन। यसैबीच धनगढी उपमहानगरपालिकाले नदी नालाको किनारामा साइकल लेन बनाउने योजना अघि सारेको हो।
धुलो, धुवाँ, ध्वनि प्रदूषण नहुने, नत महँगो, नत प्रट्रोल नै चाहिने वातावरणमैत्री साधन हो साइकल। तराईका जिल्लाहरूका स्कुल तथा क्याम्पसका विद्यार्थीका लागि प्रिय सारथि बनेको छ साइकल। त्यसका साथै सरकारी तथा गैसरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरू पनि साइकलको प्रयोग गर्छन्।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको दाँजोमा साइकल चलाउनेको संख्या दोब्बर छ। समयमै नयाँ बन्ने तथा सडक चौडा बनाउँदा साइकलन लेन निर्माण गर्नु आवश्यक देखिन्छ। तब मात्र दीगो विकास सम्भव छ।





