सभामुख महराद्वारा पहिरो प्रभावित मसिने गाउँको अवलोकन

काठमाडौँ– सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गरेका छन्।

अविरल वर्षाका कारण गत असार २७ गते राति पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन्।

पहिरो गएको ठाउँ, घरहरु र बारीको स्थलगत अवलोकनपछि सभामुख महराले तत्कालका लागि राहत र अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने र दीर्घकालीन रुपमा मसिने गाउँको पुनर्निर्माण वा बस्ती पुनः स्थापनातर्फ सोच्नुपर्ने बताए।

‘मसिने बस्ती पहिरोको ठूलो जोखिममा रहेछ, यहाँ राहत वा सहयोगले तत्कालको लागि त होला, सभामुख महराले भने, ‘तर, दीर्घकालीन रुपमा यो बस्ती बसोबासका लागि जोखिमपूर्ण रहेछ, राज्य तहबाटै बैकल्पिक बासस्थानका लागि पहल गर्नुपर्ने देखिन्छ ।’

अहिलेकै बस्तीमा पहिरोको जोखिमबाट बच्ने उपाय अवलम्बन गर्ने कि नयाँ ठाउँ खोजेर सुरक्षित बस्ती बसाउने भन्ने विकल्पमै पनि सोच्नुपर्ने भन्दै सभामुख महराले सरकारसँग मसिने बस्तीको समस्याका विषयमा आफूले पनि आग्रह गर्ने बताए।

स्थानीय सुदन तामाङले बस्तीको दुवैतर्फ पहिरो गएर थुप्रै अन्नबाली नष्ट तथा केही घरहरुसमेत भत्किएको जानकारी गराए । ८० घरजति पहिरोको उच्च जोखिममा रहेको र अहिलेसम्म कतैबाट राहत नपाएको भन्दै राहतको आस गरेको उनको भनाई थियो।

मसिनेबासी जय तामाङले पहिरोको जोखिममा रहेका मानिसहरु डाँडा वरिपरिका सुरक्षित घरहरुमा आश्रय लिइरहेको भन्दै राहतका लागि आग्रह गरे।

‘पानी पर्न थाल्यो भने घर छोडेर डाँडोका घरहरुमा आश्रय लिन आउनुपर्छ, तामाङले भने, ‘कसैको आँगनबाटै पहिरो गएको छ, कसैको घर माथिबाट पहिरो आएर आधा घर नै पुरिदिएको छ, घरमा बस्न सकिने अवस्था नै छैन ।’

वर्षाका कारण गाउँको दुवैतर्फ गएको पहिरोबाट ८० घर प्रभावित बनेको चन्द्रागिरि नपा वडा नं. २ का अध्यक्ष गोपी सुर्खेतीले बताए । करिब २ सय घरधुरी रहेको मसिनेमा अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

तत्कालका लागि पहिरोको उच्च जोखिममा रहेका घरपरिवारको बासस्थान तथा राहतको व्यवस्था गर्नुपर्ने भन्दै वडा अध्यक्ष सुर्खेतीले दीर्घकालीन रुपमा बस्तीलाई कसरी जोगाउने भनेर सोच्नुपर्ने स्थिति आएको बताए।

भिरालो जमिनमा रहेको बस्ती भएकाले मसिने गाउँ वर्षायाममा सधैं पहिरोको जोखिममा परिरहने पूर्वसभासद तथा संविधान सभा सदस्य रुपा महर्जनको भनाई थियो।

२० वर्षअघि पनि पहिरोका कारण मसिनेमा ठूलो क्षति भएको भन्दै महर्जनले दीर्घकालीन रुपमै समस्याबाट छुटकारा पाउन के गर्न सकिन्छ भनेर मसिने बस्तीका लागि सबैले सोच्नुपर्ने बताइन्।

ताजा समाचार

सम्बन्धित समाचार