काठमाडौँ– मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर रहेतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ। पूर्वका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज आइतवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। राति देशको पूर्वी भूभागमा सामान्यदेखि पुर्ण बदली साथै मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
त्यसैगरी भोली (सोमबार) र पर्सी (मंगलबार) देशको पूर्वी र मध्य भूभागमा सामान्य देखि पूर्ण बदली साथै पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। पुर्व तथा मध्यका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाका देशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने महाशाखाले जनाएको छ।





