वर्षातको पानी संकलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ– वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने र पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायहरुलाई जागरुक बनाउने उद्देश्यले राजधानीमा राष्ट्रिय सम्मेलन हुने भएको छ।

स्मार्ट वास सोलुसन र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त आयोजना तथा खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोगमा यही साउन ११ र १२ गते Rainwater Harvesting for Livelihood, Community and Ecosystem Resilience विषयक राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजक समितिले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

भारत,बंगलादेश,श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधिहरुको सहभागिता रहने सो सम्मेलनको समुद्घाटन माननीय,ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षामान पुनबाट हुनेछ। सम्मेलनको व्यवसायिक सत्रमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि,वर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिय चक्र(इकोसिस्टम) आकाशे पानी संकलन प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तीय सहयोग, पानीको अभाव,जलवायु परिवर्तन र अनुकूलनसंग २५ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन्। सम्मेलनको अवधिमा वर्षाको पानी संकलन प्रविधिका बारेमा काम गरिरहेका संघ संस्थाहरुले आफ्ना काम र उपयोगी प्रविधिका बारेमा सहभागी र अवलोकनकर्ताहरुलाई जानकारी गराउन प्रदर्शनी पनि गर्ने बताएको छ।

सम्मेलन आयोजनाको निमित्त स्मार्ट वास सोलुसनका अध्यक्ष ई.रामदीप साहको अध्यक्षतामा विभिन्न प्रतिनिधिहरु रहेको एक आयोजक समिति समिति गठन भएको छ। त्यस्तै सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको संकलन,छनौट र सम्पादन गर्न डा.गुणनीधि पौडेलको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति र स्मार्ट वाटर सोलुसनका अध्यक्ष ई. रामदीप साहको अध्यक्षतामा एक व्यवस्थापन समिति बनेको छ। सबै समितिहरुले युद्धस्तरमा काम गरिरहेका छन्।

शनिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समिति तथा स्मार्ट वासका अध्यक्ष ई. रामदीप सहले भने ,देशमा उपलब्ध पानीका स्रोतको हिसाबले नेपाललाई जलस्रोतको धनी मुलुक भनिए पनि नेपालका धेरै शहर,बजार र गाँउहरुमा खानेपानीको समस्या रहदै आएको छ। अन्य मुलुकहरुको अनुभवलाई हेर्दा पनि प्रकृतिले सित्तैमा दिने आकाशे पानीलाई उपयोग गर्न नसकिदासम्म खानेपानीको अभाव दीर्घकालसम्म रहने देखिन्छ। उनले अहिले विश्वको जनसंख्याको करिब १.३ प्रतिशतले आकाशे पानी संकलनबाटै आफ्ना घरायसी आवश्यकता पूरा गरेको र विकासोन्मुख मुलुकमा ग्रामीण क्षेत्रका २.४ प्रतिशत जनसंख्याले यस्तो वर्षातको पानी संकलनबाट आफ्नो पानीको आवश्यकता पूर्ति गरिरहेको दाबी गरे।

नेपालको ८८ प्रतिशत जनसंख्याबीच पाइप प्रणालीबाट खानेपानीको सुविधा पुगेको भए पनि जलवायु परिवर्तनका कारणले वर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र मुहान संरक्षणमा भएको वेवास्ताका कारण खहरे प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन। हिमालबाट उत्पति भएर बाहै्र महिना निरन्तर बग्ने नदीहरुबाट सबै पहाडी भूभागमा खानेपानी पुर्याउन आर्थिक रुपले संभव छैन। यी नदीहरु पहाड र तराई भेगका केही स्थानहरूलाई शोभा मात्र सिद्ध भएका छन्।

नेपालमा वर्षातको पानी संकलन गर्न घरघरमा बलेनी र पदालोको व्यवस्था गरिएको सामुदायिक उपयोगको लागि पोखरी बनाइएको स्मरण गराउदै ई. साहले ती मौलिक परम्परालाई पुनःजागृत गराउनु पर्ने आवश्यकता औल्याउनु भयो। उनले मनसुनी वर्षा तथा हिउँदमा पश्चिमी बायुका प्रभावले हुने वर्षाको पानीलाई घरघरमा र समुदायमा संकलन गर्ने प्रबन्ध गर्न सकियो भने देशभर देखिएको खानेपानीको संकटबाट सिंगो देशलाई मुक्त गर्न सकिने विश्वास पनि व्यक्त गरे।

आयोजक समितिका अध्यक्ष साहले भने,‘आकाशबाट परेको पानी जमिन भिज्न नपाउदै ढल र नलबाट खोलामा पुग्ने ढंगले जसरी शहरी विकास भैरहेको छ, त्यसलाई परिवर्तन गरी बर्षाको पानी संकलन गरी शहर र बजारका मध्य तथा पृष्ठ भागमा तलाउ र पोखरी निर्माण गरी सौन्दर्यीकरण गर्न शहरी योजनाकारहरुलाई समेत यस सम्मेलनले अभिप्रेरित गर्ने विश्वास हामीले लिएका छौ ।’

पत्रकार सम्मेलनमा स्मार्ट वासका सल्लाहकार तथा पूर्वमन्त्री ई।गणेश साहले खानेपानी, ऊर्जा र खाद्यान्नमा नेपालीहरु उपभोक्ता मात्रै होइन, घर वा जग्गा वा दुवै हुने व्यक्ति उत्पादक पनि बन्न सक्ने अवस्था रहेकोले त्यसलाई उपयोग गर्न आग्रह गरे। उनले पानीको आवश्यकता पूर्ति गर्नका लागि कृषि, शिक्षा, सुरक्षा, पर्यटन, औद्योगिक क्षेत्रका सरोकारवाला र शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको लागि वर्षाको पानीको संकलन अपरिहार्य भैसकेको बताए।

कार्यक्रममा ई. लक्ष्मीप्रसाद देवकोटाले भूकम्पले पानीको बर्षोदेखिको मुहानका स्रोतहरु छिन्नभिन्न पार्नुका साथै विकासको नाममा पहाडी क्षेत्रमा चलाइएको डोजर आतंकले कहि पानीको मुहान उधिन्ने र कही पुर्ने गरेकोले पहाडमा पानीको स्रोत सुक्दै गएको बताए ।

नेपालमा ४ महिना वर्षाको कारण पानी अधिक हुने,४ महिना तानतुन धानिनसक्ने र ४ महिना अभाव हुने भएकोले वर्षाको पानीको समुचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। घरको छानामा पर्ने पानीको सकलन,सामुदायिक प्रयोजनको लागि पोखरीको निर्माण र मर्मतसंभार सहित पानी पुनर्भरण र मुहानसंरक्षणकालागि वन पोखरीको व्यवस्था गर्न सके पहिरो र बाढीको प्रकोप कम हुन गई तराईको डुवान समस्या पनि कम हुने उनको दाबी रहेको छ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रमाकान्त दवाडीले विभागले खानेपानीका जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरु विकास गर्न लागेको बताए। उनले जमिनको पानीको पुनःभरणमा पनि ध्यानुपर्ने अवस्था आइसकेको बताउदै यो सम्मेलनले ती विषयहरुलाई राम्रोसंग उठान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका डा.उद्धवराज खड्का,पूर्व सांसद विमल केडिया,स्मार्ट वासका निर्देशक ई।हरिप्रसाद शर्मा लगायतले वर्षातको पानी संकलन र व्यवस्थापनका विषयमा प्रकाश पारेका थियो ।

पृथ्वीको दुई तिहाई खण्ड पानीले ढाकेको छ। तर सबै पानी पिउन योग्य छैन् ।समुन्द्र र महासागरको पानी जसले पृथ्वीको पानीको ९७.५ प्रतिशत अंश ओगटेको छ,त्यो नुनिलो छ । बाँकी २.५ प्रतिशत पानीमात्र ताजा र स्वच्छ र पिउनको लागि सुरक्षित पानीको रुपमा रहेको छ। यसमध्येको ठूलो अंश १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबमा हिउँको रुपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतको रुपमा जमिनमुनि रहेको छ। जमीनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउनयोग्य ताजा पानीको रुपमा उपलब्ध छ। त्यसैले ताजा पानी हामी सबैको अमूल्य जीवनका लागि अमूल्य रहेको छ। खानेपानीको क्षेत्रमा कार्यरत विज्ञहरु पानीलाई जीवन र सुरक्षित पानीलाई उत्तम जीवन भन्ने गर्दछन्।

आयोजकहरुले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र त्यसउपर सहभागीहरुको छलफलबाट प्राप्त भएका निष्कर्षहरु नेपाल सरकारका सम्बन्धित निकाय, प्रादेशिक र स्थानीय सरकारहरुसमक्ष पनि पुर्याइने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार