मध्यपहाडी लोकमार्गको काम रोकियो

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ।

मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।

भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको र वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने बताइएको छ।

अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ। सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ।

यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ। सदरमुकाम कुश्मा बजार क्षेत्रको चार किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ। करीब दुई किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन्। दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार