प्रदूषण घटेको छैन, घट्दैन, समयमै गम्भीर नबने झन् बढ्छ

काठमाडौँ– काठमाडौँमा वायु प्रदूषणको मात्रा प्रत्येक वर्ष बढिरहेको विभिन्न अध्ययन र परीक्षणले देखाएको छ।

प्रदूषण कम गर्न आफूले चालेका कदमहरू सफल भएको र प्रदूषणको मात्रा कम भएको दाबी सरकारी पक्षले गरिरहे पनि तथ्याङ्कले भने सुधार भएको देखाउँदैन। पानी परेको समयमा विशेषगरी धुलोको मात्रामा केही कमी आउने भएपनि जब घाम लाग्छ, प्रदूषणको मात्रामा अत्याधिक वृद्धि हुन्छ।

केही हप्ता अगाडि प्रधानमन्त्री केपी ओलीले प्रदूषणको मात्रा कम भएका कारण मास्क लगाउनेको संख्यामा पनि कमी आएको र केहीले सरकारको विरोध गर्नकै लागि मात्र लगाउने गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए जसको सर्वत्र आलोचना भयो । घुलोलाई बढार्नको लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले व्रुमर पनि किनिरहेका छन् तर काठमाडौंका विभिन्न ठाउँमा धुलोको थुप्रो नै भएकाले वढार्ने कार्य प्रभाावकारी हुन सकेको छैन् ।

तर, काठमाडौँमा निरन्तर तर अव्यवस्थित तवरले चलेको निर्माण कार्य र पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनमा भइरहेको वृद्धि अनि प्रदूषण बढाउने सवारी साधनलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचाल्दा प्रदूषण निरन्तर बढिरहेको छ ।

त्यसमाथि अव्यस्थित शहरीकरण र रूखको मात्रामा कमीको कारणले पनि प्रदूषण बढेको छ । सडक विभाग, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण लगायतका सरकारी निकायहरुको विचमा समन्वय नहुँदा पनि एक पटक पिच भएको सडक पटक पटक खन्नुपर्ने अबस्था छ । यतिसम्म कि केही महिना अगाडी मात्रै पिच भएको सडक खनिएका उदाहरणहरु समेत रहेका छन् । यसले गर्दा पनि धुलो प्रदूषण बढीरहेको छ । हिजोआज वर्षाको समयमा केही घन्टा मात्रै घाम लाग्दा पनि धुलाम्मे बन्छ ।

स्वीजरल्याण्डको डावोसमा कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा तयार पारेको ‘इन्भारोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदन अनुसार १ सय ८० राष्ट्रको वातावरणीय अवस्थाको वरियतामा नेपाल १ सय ७६ मा पर्दै विश्वकै पाँचौं खराब देश बनेको हो ।

नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको सो अध्ययनले देखाएको छ। अध्ययन अनुसार नेपालभन्दा बढी वायु प्रदूषण हुने देशमा भारत, बंगलादेश, बुरुण्डी र कंगो छन्। बढ्दो सवारीको चापसँगै नेपालमा प्रदूषणको ग्राफ उकालो लागिरहेको उक्त प्रतिवेदनमा उल्लेख छ । महानगरलाई धुलो किन कम भएन प्रश्न गर्दा यसले सडक विभागलाई दोषी देख्छ । अनि सडक विभाग चाँहि मेलम्चीका खानेपानीका आयोजनाको लागि पाइप बिछ्याउँदा जथाभावी खनिएका कारण धुलो बढेको दाबी गर्छ । हुन पनि खानेपानी तथा सरसफाई मन्त्रालयसँग काम सम्पन्न गर्ने ठोस कार्य योजना र मिति छैन।

वातावरणीय हिसाबले काठमाडौँ खाल्डोमा ५ मुख्य समस्या छन्– अस्तव्यस्त ट्राफिक, विभिन्न कारणले उत्पन्न भइरहेको धुलो, खुल्ला क्षेत्रको अभाव, अव्यवस्थित ढल र प्रदूषण फैलाउने सवारी साधनको अत्याधिक संख्या । यि पाँच वटै समस्यालाई सम्बोधन गर्ने ठोस कानून निर्माण नगर्दासम्म प्रदूषणको मात्रा घट्ने अवस्था देखिदैन् ।

विशेषतः भूकम्पपछिको पुनर्निर्माण, निरन्तरको सडक विस्तार, खानेपानीका पाइप ओछ्याउन जथाभावी खनिएको सडक र फुटपाथमा थुपारिएका निर्माण सामग्रीले उपत्यकालाई वास्तवमा ‘धूलेमाडौँ’ नै बनाएको छ । वातावरणविद्का अनुसार सडकमा निरन्तर थपिएका सवारी साधन र तिनले उत्सर्जन गर्ने हानिकारक प्रदूषण नियन्त्रणमा सरकारी निकायले तदारुकता नदेखाउँदा वायु प्रदूषणको मात्रा चिन्ताजनक रुपमा अगाडि बढेको छ ।

*****

वातावरणको विभागको तथ्यांक

वातावरण विभागको तथ्यांकअनुसार २०१७ मा काठमाडौँ, लुम्बिनी र सौराहामा प्रदूषण उच्च छ । काठमाडौँमा सबभन्दा बढी रत्नपार्क र शंखपार्कमा छ । यी दुवै आउजाउ बढी हुने ठाउँ क्षेत्र हुन् । रत्नपार्कमा प्रदूषण दर (पिएम) २०१७ मा सबै भन्दा धेरै जनवरी महिनामा ८०.८६ मिलिग्राम प्रतिघनमिटर पुगेको थियो जुन यो मापदण्डभन्दा दोब्बर हो ।

त्यसपछि थोरै घटबढ हुँदै क्रमशः ८०.८६, ७९.८, ४५.१२, ६७.१६, ४२.३५, २९.०८, १८.४७, १५.९१, २४.६७, २५.०, ३०.२२, ४१.२ मिलिग्राम प्रतिघनमिटर छ । त्यस्तै, जनवरीमा ललितपुरको पुल्चोकमा प्रदूषण दर ६९.६१ मिलिग्राम प्रतिघनमिटर थियो। त्यसपछि ६८.४ हुँदै ५०.४९, ४५.६४, ३०.०७, १६.६३, ६.०७, ६.७४, ७.७३, १२.०४, १७.६७, २४.५८ मिलिग्राम प्रतिघनमिटर पुगेको थियो । धुलिखेलकोे एक वर्षको प्रदूषण दर (पिएम २.५) क्रमशः ३१.८, ५५.८१, ४३.५८, ४१.५२, २४.८७, १६.३, ७.०४, २५.८३, ३०.७८, ३१.५४ मिलिग्राम प्रतिघनमिटर रहको वातावरण विभागको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

काठमाडौँ उपत्यका तथा वरपरको वर्षभरीको प्रदूषण दर(पिएम २.५) हेर्ने हो भने रत्नर्पाकको ४२ मिलिग्राम प्रतिघनमिटर, पुल्चोकको ३२.२८ मिलिग्राम प्रतिघनमिटर, धुलिखेलको ३१.४५ मिलिग्राम प्रतिघनमिटर र लुम्बिनी ५२.५२ मिलिग्राम प्रतिघनमिटर रहेको छ। काठमाडौँको न्यूनतम मापदण्ड ४० मिलिग्राम प्रतिघनमिटर हो । विभागले मापदण्डभित्र परे हरियो र बढी भए रातो रङले संकेत गर्ने गरेको छ । पिएम १०को मात्रा रत्नर्पाकमा ९१.४९, पुल्चोकमा ३८.७३, धुलिखेलमा ५६.३४ र लुम्बिनीमा ७१.५९ मिलिग्राम प्रतिघनमिटर रहेको तथ्यांकले जनाएको छ।

*****

अमेरिकी प्रदूषण मापन केन्द्रको तथ्यांक

काठमाडौँ उपत्यकामा २.५ माइक्रो मिटर वा सोभन्दा कम व्यास भएका धुवाँ, धुलोका कणहरू (पीएम२.५) अत्यधिक रहेको तथ्य वातावरण विभाग र अमेरिकी दूतावासद्वारा सञ्चालित अनवरत मापन केन्द्रका तत्थ्यांकले देखाएका छन् । पिएम २.५, लाई प्रायः सबै प्रकारका उत्सर्जनबाट सिर्जित साना आकारका प्रदूषणको योग वा सूचकका रूपमा समेत बुझ्ने गरिन्छ । जसको मात्रा टीएसपीमा झन्डै आधा हुन्छ । पीएम २.५ उपत्यकाको सबैभन्दा संवेदनशील प्रदूषणका रूपमा देखापरेकाले अनुसन्धान यसैको नियन्त्रणमा केन्द्रित गरिएको थियो ।

अमेरिकी दूतावासद्वारा सञ्चालित अनवरत मापन केन्द्रको सन् २०१९ को जुन महिनाको ३० तारिखमा पीएम २.५ हरेक घण्टा ३१.१, ३२.१, ३४.८, ३२, २८(८, २५.१, २६, २५.५, २३.८, २६.८, २७.१, २७.१, २७.४, २७.७, २९.३, ३०.५, ३३.५, ३४.१, ३५.२, ३६.५, ३९.२, ३८.७, ३९.६, ४६.१,४७ प्रतिशत माइक्रोन रहेको थियो । त्यसैगरी सोही दिन फोरा दरबार काठमाडौँमा रहेको प्रदूषण मापन केन्द्रमा पीएम २.५ हरेक घण्टा ४४.८, ३९.६, ३७.६, ३५.९, ३४.१, ३२.५, ३१.४, ३३.३, ३२.३, ३०.३, ३०.६, ३२.२, ३२.७, ३५.५, ३३.१, ३४.१, ३५.३, ३७.४, ३७.९, ४०.३, ४१.७, ४३.९, ४६.७, ४७.२, ४९.१ प्रतिशत माइक्रोन रहेको थियो ।

*****

यस्तो छ प्रदूषण नियन्त्रण सम्बन्धी विधेयक

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रदूषण वा जोखिमपूर्ण फोहर निष्कासन वा उत्सर्जनबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने प्रावधान प्रस्ताविक विधेयका छ । प्रस्तावित वातावरण संरक्षण ऐनको दफा ३५ को उपदफा ‘ग’मा भनिएको छ, ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराउनु पर्ने प्रस्तावको हकमा त्यस्तो प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरित हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा पचासलाख रुपैयाँसम्म जरिवाना ।’

यसअघि, वातावरण संरक्षण ऐन–२०५३, नियमावली–२०५४, अनुसार ईआईए परिधीभित्र पर्ने परियोजना ईआईए नगरेरै सञ्चालन गरिए वा उल्लंघन गरेमा ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था थियो । जनजीवन, जनस्वास्थ्य एवं वातावरणलाई प्रतिकूल प्रभाव पार्ने गरी प्रदूषण र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड विपरीतको कुनै पनि काम गर्न र गराउन नहुने उल्लेख गरिएको छ ।

त्यसैगरी, हिमाल आरोहण, पदयात्रा, दृष्यावलोकन वा अन्य कुनै प्रयोजनको लागि हिमालय वा उच्च पहाडी क्षेत्रमा जाने कुनै पनि व्यक्ति वा समूहले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड विपरित हुने गरी प्रदूषण गरी वातावरण प्रतिकूल प्रभाव पार्ने कार्य गर्न वा गराउन नहुने बताइएको छ ।

वातावरणमा प्रतिकूल प्रभाव पारेको देखिएमा विभागले सम्बद्ध व्यक्ति, समूह वा संस्थालाई प्रदूषण न्यूनीकरणको वा निराकणको उपाय अवलम्बन गर्न निर्देशन दिन, आवश्यक शर्त तोक्न वा वातावरण प्रतिकूल प्रभाव पर्ने गरी कुनै कार्य गर्न नपाउने गरी रोक लगाउन सक्नेछ । विधेयकमा अगाडि भनिएको छ, ‘कुनै पनि किसिमको जोखिमपूर्ण फोहोर नेपाल भित्र आयात गरिने छैन।’

जोखिमपूर्ण फोहोरको संकलन, भण्डारण, प्रशोधन , बिक्री वितरण, विसर्जन वा ओसार पसार गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर नपर्ने गरी उचित व्यवस्थापन गर्नुपर्नेछ । वातावरण निरीक्षण गर्न जाँदा कुनै व्यक्ति वा संस्थाले निरीक्षण गर्न नदिएमा, निजले मागेको विवरण वा जानकारी नदिएमा पन्ध्र हजारदेखि बीस हजारसम्मको जरीवाना गर्न सक्ने वातावरण संरक्षण विधेयक छ ।

*****

वायु प्रदूषण मापन उपकरणहरूले पछिल्लो २४ घण्टामा भक्तपुरको पीएम २.५ को मात्रा ४४.७ र पीएम १० ४५.८ मिलिग्राम प्रतिघनमिटर मापन गरेको थियो। त्यसैगरी पुल्चोकको पीएम २.५को मात्रा १७.५ र पीएम १० २६.१ मिलिग्राम प्रतिघनमिटर मापन गरेको थियो । फोरा दरबारको पीएम २.५को मात्रा ४४.७ र पीएक १०को मात्रा ४५.८ मिलिग्राम प्रतिघनमिटर थियो।

ताजा समाचार

सम्बन्धित समाचार