काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ ।
यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ ।
महानगरले सञ्चालन गरिरहेका सबै बु्रमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन् । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उनको भनाइ छ ।
यान्त्रिक कुच्चो (बु्रमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताए। महानगरले पनि फोहरका कर्मचारी कम गर्दे जाने योजना बनाएको उनी बताउँछन्। अहिले महानगर आफैँले खरीद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुच्चो छन्। तिनले महानगरलाई धुलोरहित बनाइरहेको उनको भनाइ छ।
सडकको धुलोसँगै घरबाट सडकसम्म फोहर आउनै नदिने योजना महानगरको छ।





