काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी तथा फलफूल बजारका तरकारीको विषादी परीक्षण प्रतिवेदन मागेपछि विहीबार ९ वटा नमुनामा ३० वटा विषादी परीक्षण गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको उक्त परीक्षणमा तरकारी तथा फलफूलमा विषादीको मात्रा मापदण्ड बमोजिम नै प्रयोग गरिएको पाइएको छ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार नेपाल तथा भारतमा उत्पादन भएका तरकारी तथा फलफूलमध्ये ९ वटा नमुना संकलन गरी विषादी परीक्षण गरिएको हो।
हाकाहाकीसँग कुरा गर्दै महर्जनले परीक्षण गरिएका नमुनामा सरकारले तोके बमोजिम कै विषादीको प्रयोग भएको बताए।
‘परीक्षण गरिएका ३० वटा मध्ये २९ वटामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त विषादीको प्रयोग भएको भेटियो,’ उनले भने, ‘बाँकी रहेको एउटामा विषादीको केही मात्रा बढी देखिएपनि, सबै विषादी तोकेको मापदण्डभित्रै पर्छन्।’
नेपालमा २ वटा विषादी मात्र परीक्षण गरिन्छ भन्ने जनमानसमा भ्रम रहेको बताउँदै उनले २ वटा विषादी नभएर समूह भएको र सोही समूहभित्र नै धेरै प्रकारका विषादी मापन गरिने जिकिर गरे।
पछिल्लो समय चर्चामा आएको विषादी बहसको असर नभएर अघिल्ला वर्षहरूदेखि नै विषादीको परीक्षण गरिरहेको उनी बताउँछन्।
विषादी परीक्षण नियमित रुपमा थानकोट र साँगाको सीमानामा गाडी नै रोकेर गर्ने गरेको उनको भनाई छ।
हरेक वर्ष चौमासिक रुपमा तरकारीमा विषादीको मात्रा परीक्षण गरी प्रतिवेदन तयार पारेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा बुझाउने गरेको उनले बताए।
तरकारीको मूल्य वृद्धि गर्ने व्यापारीलाई कारबाही
पछिल्लो समय तरकारीको मूल्य बढेको भन्दै जनगुनासो आएपछि शुक्रबार विहान बल्खु तथा कालिमाटी तरकारी बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ।
अनुगमनको क्रममा बल्खु र कालिमाटीे तरकारी बजारका थोक विक्रेताले अस्वभाविक रुपमा मूल्य वृद्धि गरेकोले अनुगमन गर्नुपरेको विभागका निर्देशक शोभाकर रेग्मीले बताए।
व्यवसायीहरूले गरेको अनियमितताको आधारमा उनीहरूलाई ५ देखि २० हजारसम्म जरिवाना तिर्न लगाएको र केही व्यवसायीलाई कसुरको मात्राको आधारमा सल्लाह दिइएको उनको भनाई छ।
अनुगमन गर्ने विभागको नियमित काम भएतापनि कहिलेकाहीँ बजारमा आएको जटिल अवस्थालाई ध्यानमा राख्दै आकस्मिक रुपमा पनि अनुगमन गर्नु परेको उनले बताए।





