Friday, September 27, 2024

किसानलाई पावर टिलर हस्तान्तरण

धनगढी–धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रका किसानहरूलाई अनुदानमा पावर टिलर उपलब्ध गरेको छ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पावर टिलरहरु हस्तान्तरण गरेकी हुन्। उप–महानगरपालिका भित्रका कृषक समूह, कृषि सहकारी संस्था, फर्म र व्यक्तिलाई ५० प्रतिशत अनुदानमा पावर टिलरहरु उपलब्ध गराएको उप–प्रमुख सुशीला मिश्र भट्टले बताइन।

धनगढी उप–महानगरपालिकाले कृषि प्रणालीलाई प्रविधियुक्त बनाउने नीति लिएको छ उप–प्रमुख भट्टले भनिन्, त्यसैले व्यावसायिक किसान, कृषक समूह, कृषि सहकारीहरूलाई पावर टिलर अनुदानमा दिएका हौँ। यस अघि पनि विभिन्न कृषक समूहहरूलाई पम्पसेट, मोटर, बोरिङ लगायतका कृषि उपकरण ८० प्रतिशत र पूर्ण अनुदानमा समेत उपलब्ध गराएको बताउँदै उप–प्रमुख भट्टले भनिन्, व्यावसायिक रूपमा खेती गर्न चाहनेहरूका लागि थुप्रै सहयोगका कार्यक्रम हामीले ल्याएका छौँ।

किसानहरूलाई बिउ बिजन देखि आवश्यक तालिम समेत धनगढी उप–महानगरपालिकाले सञ्चालन गर्दै आएको पनि उप–प्रमुख भट्टले बताइन ।

उप–महानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले ३ वटा कृषक समूह, २ वटा कृषि सहकारी संस्था, ३ वटा फर्म र २ जना व्यावसायिक किसानहरू गरी १० जनालाई पावर टिलर हस्तान्तरण गरेको बताए। १ लाख ८५ हजार लागत मूल्य पर्ने पावर टिलरमा धनगढी उप–महानगरपालिकाले ९२ हजार ५०० अनुदान उपलब्ध गराएको पनि कृषि शाखा प्रमुख उपाध्यायले बताए।

ताजा समाचार

सम्बन्धित समाचार