काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्य विविध विषयसँगै जलवायु परिवर्तनको विषय पनि नेपाल र भारतबीचको सहकार्यको महत्वपूर्ण क्षेत्र भएको बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको, नेपाल–भारत सम्बन्ध विकास र आयाम विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनजस्तो जल्दोवल्दो विषयमा दुई देशको बीचमा सहकार्य आवश्यक रहेको बताए।
‘जलवायु परिवर्तनको चुनौती निकै ठूलो मात्रामा बृद्धि भईरहेको छ। त्यसैले सम्भबत हामीले अब जलवायु संकट अथवा जलवायु आपत भन्ने शब्दाबली प्रयोग गर्नुपर्छ । दुबै मुलुक एकै खालको क्लाइमेट सिस्टम, पर्यावरण र हिमालय श्रंखलासँग जोडिएका कारण दुवै मुलुकले भोगेका चुनौती एकै खालका छन,’ मन्त्री ज्ञवालीले भने। उनले दुई देशले दैनिक मौसमको बारेमा समेत कुराकानी गर्नसक्ने बताए।
उनले नेपालको तराई र नेपालसँग सिमाना जोडिएका भारतको उत्तरी भेगमा बाढीको जोखिममा रहेकाले यस विषयमा दुई देशको विचमा एकदमै संवेदनशील र प्राथमिकताका साथ सहकार्य आवश्यक रहेको बताए । सो कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतका सम्वन्धका विभिन्न आयामहरुबारे प्रकाश पारेका थिए।
सोही कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई देशको विचमा लामो समयदेखि सौहाद्र्धपूर्ण सम्बन्ध रहेको बताए । उनले नेपालले दुबै छिमेकी मुलुकबाट अधिकत्तम आर्थिक लाभ लिनुपर्ने बताएका थिए। नेपालका लागि भारतीय राजदुत मन्जीभसिंह पुरीले विगतको ७० वर्षको अवधीमा भारतले नेपालमा गरेका विभिन्न सहयोग परियोजनाहरुको बारेमा विस्तृतमा चर्चा गरेका थिए।





