काठमाडौँ– साउन लागिसक्दा पनि देशभर ४० दशमलव ४६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ जुन गतवर्षको तुलनामा २३ दशमलव ४२ प्रतिशतले कमी हाे ।
अघिल्लो वर्षकाे असार ३१ गतेसम्मको तथ्यांकलाई हेर्दा ६३ दशमलव ८८ प्रतिशत रोपाँइ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहायक प्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार बर्खा लागिसकेको लामो समयसम्म पनि मनसुन सक्रिय हुन नसक्दा गतवर्षको तुलनामा कम रोपाइँ भएको हो।

‘समयमा पानी नपर्दा रोपाइँमा असर गर्यो,’ उनले भने, ‘दुई-तीन दिन देखि पानी परिरहेको छ, यसले कभर गर्छ।’ पहाडमा चाँडै रोपाइँ शुरु हुने भएकाले उक्त क्षेत्रमा पानी नपर्दा बढी असर हुने र तराईमा ढिला हुने हुनाले कम असर हुने उनले जनाए।
केही दिन अगाडि परेको पानीसँगै आएको बाढीले रोपाइँको साथै धान उत्पादनमा पनि असर गर्ने अनुमान गरिएको उनले बताए।
यसका साथै नेपालमा आगामी दिनमा मनसुनी वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले पनि धान रोपाइँलाई प्रभाव पार्ने देखिन्छ।
माहाशाखाका अनुसार हाल देशको मध्य र पूर्वी भेगमा सामान्य बदली भइ हल्का देखी मध्यम खालको वर्षा भइरहेको छ भने पश्चिमी पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
कुन प्रदेशमा कति रोपाइँ ?
असार ३१ गतेसम्मको तथ्याकंलाई हेर्दा सबैभन्दा कम प्रदेश नं. २ मा १६ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६९ दशमलव ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
गत वर्ष यही समयमा प्रदेश नं. २ मा ७४ दशमलव ६१ प्रतिशत रोपाइँ भएको थियो भने सुदूरपश्चिममा ८० दशमलव ८० प्रतिशत रोपाइँ भएको थियो।
त्यसैगरी प्रदेश नं. १ मा गतवर्ष ५३ दशमलव ३९ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यसवर्ष ३६ दशमलव ०७ प्रतिशत मात्र रोपाइँ भएको छ। प्रदेश नं. ३ मा गतवर्ष ६२ दशमलव २६ प्रतिशत रोपाइँ गरिएकोमा यसवर्ष ३१ दशमलव ०६ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशमा गतवर्ष ७५ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष भने ६७ दशमलव ४० प्रतिशत रोपाइँ गरिएको छ । त्यसैगरी प्रदेश नं. ५मा अघिल्लो वर्ष ६६ दशमलव ३९ प्रतिशत रोपाइँ गरिएकोमा यसवर्ष ४७ दशमलव ८४ मात्र प्रतिशत रोपाइँ भएको छ।
कर्णाली प्रदेशमा गतवर्ष ६९ दशमलव ९३ प्रतिशत रोपाइँ गरिएकोमा यसवर्ष पनि करिब ६७ दशमलव ८३ प्रतिशत रोपाइँ भएको छ । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा रोपाइँ कम प्रभावित भएको देखिएको छ।
त्यसैगरी सुदूरपश्चिममा गतवर्ष ८० दशमलव ८० प्रतिशत रोपाइँ भएकोमा यसवर्ष भने ६९ दशमलव ६० प्रतिशत मात्र रोपाइँ भएको छ।
भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्था
भौगोलिक क्षेत्रानुसारको तथ्याङ्कलाई हेर्ने हो भने सबैभन्दा कम तराई क्षेत्रमा ३५ दशमलव १२ प्रतिशत रोपाइँ भएकोमा सबैभन्दा बढी उच्च पहाडी क्षेत्रमा ५१ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ।
गतवर्ष यही समयमा तराई क्षेत्रमा ६२ दशमलव ६५ प्रतिशत रोपाइँ भएको थियो भने उच्च पहाडी क्षेत्रमा भने ६६ दशमलव २२ प्रतिशत रोपाइँ भएको थियो।
अघिल्लो वर्ष यही समयमा ६७ दशमलव ०४ प्रतिशत रोपाइँ सम्पन्न भएको मध्य पहाडी क्षेत्रमा यस वर्षमा भने ५३ दशमलव ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।





