त्रिदेशीय सीमामा अवस्थित अपि नाम्पामा सुरक्षा चासो

दार्चुला– काठमाडौँबाट ९ सय ६५ किमी टाढा। दार्चुला बजारमा अहिले पहिले जस्तो उत्साह छैन। यार्सागुम्बाको सिजन भए पनि हिमाली भेगमा यथेष्ठ यार्सागुम्बा नपाउँदा र बिक्री नहुँदा विगतमा जस्तो उत्साह देखिदैन्।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार यो वर्ष यार्सागुम्बा सङ्कलनका लागि करिब ३ हजार ५ सय जनाले सङ्कलन दस्तुर बुझाएका थिए। परिचय पत्र नलिने पनि त्यति नै छन्। यसरी हजारौँले यार्साको खोजीमा हिमाली क्षेत्रको यात्रा गरेको देखिन्छ।

अपी नाम्पाको नक्सा

यसक्रममा विभिन्न घटनामा परी ४ जनाको ज्यान गएको संरक्षण कार्यालयले जनाएको छ। राजस्व तिरेर सङ्कलनमा जानेहरूका लागि कार्यालयले १० लाखको बीमाको व्यवस्था गरेको छ। तर मृत्यु भएका चारमध्ये तीनजना राजस्व नतिरी नै प्रवेश गरेका कारण उनीहरूको बीमा दावी अप्ठ्यारोमा परेको छ।

यौनवद्र्धक मानिएको यार्सागुम्बाको सिजन सकिए पनि यसका सङ्कलकहरू पूर्णतयः फर्किसकेका छैनन्। ‘हामी पूर्ण रुपमा अनुगमन त गर्न सक्दैनौँ, अझै पनि यार्सा सङ्कलनको कार्य भइरहेको जानकारी पाएका छौँ’ अपि नाम्पा संरक्षण क्षेत्र संरक्षण क्षेत्र कार्यालयका सहायक संरक्षण अधिकृत राजु घिमिरे भन्छन्, ‘यार्साको सङ्कलनमा गिरावट आएको छ, अहिलेसम्म ६ किलोको मात्रै राजस्व संकलन भएको छ । चीनतिर यसको माग कम भएकाले बिक्री हुन छोडेको बुझिन आयो ।’

वर्षको आधा समय किरा र आधा समय वनस्पतिको रूप धारण गर्ने यो बहुमूल्य वनस्पतिको सङ्कलनमा हरेक वर्ष हिमाली भेगमा रमिता नै लाग्छ। भर्खर हिउँ पग्लेको पहाडी अनकन्टार भीर पखेरामा यो बहुमूल्य चिज पाउन सके जीवन नै बदलिने अपेक्षा धेरैको हुन्छ।


तस्बिर सौजन्य: कमल राज जोशी

‘विगतका वर्षहरूमा जति यार्सागुम्बा अहिले देखिएको छैन। मैले चार जनाको परिवार भेटें ६ दिनमा उनीहरूले जम्मा ७२ वटा यार्सा मात्रै टिपेका छन्। यो निकै कम हो।’ अपि नाम्पा क्षेत्रको यार्सा सङ्कलनको अवलोकन गरी फर्किएका रेडियो रेडियो दार्जुलाका स्टेसन म्यानेजर कमलराज जोशी भन्छन्, ‘७२ यार्साको मूल्य करिब ३६ हजार पर्छ। सङ्कलकहरूको खर्च, मिहिनेत आदिलाई हेर्दा यो नगन्य हो। यसले उनीहरूलाई पोसाउँदैन।’

*****

यार्सागुम्बाको परिमाणमा नाटकीय रूपमा गिरावट आएको छ। यो कुरा स्वीकार गर्छन् अपि नाप्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरे। उनी पनि यार्सा खोजी व्यवस्थापनको कार्य मिलाएर तल झरेका छन्। यार्सागुम्बाको मात्रा कम हुँदै जानुमा धेरैले यो क्षेत्रमा पाइने सेतो गुँरासको विनाशलाई जिम्मेवार मान्छन्।

‘सेतो गुँरास मासिँदै जाँदा त्यहाँ बासस्थान भएका पुतलीहरू मासिएकाले यार्सागुम्बाको उत्पादन घटेको हुनसक्छ ’ घिमिरे भन्छन्। खासगरी यार्सागुम्बा सङ्कलकहरूले दाउराको रूपमा सेतो गुँरास प्रयोग गर्छन्। हरियो रुख पनि सजिलै बाल्न सकिने भएकोले यसको विनाश व्यापक छ। यही विनाशको श्रृङ्खलाले यार्सागुम्बाको उत्पादनलाई पनि असर गरेको संरक्षणकर्मीको भनाई छ।

यार्सागुम्बा सङ्कलनमा जानेहरूलाई अपि नाप्पा संरक्षण क्षेत्रले तोकिएको दस्तुर लिएर परिचय पत्र दिन्छ। संरक्षण क्षेत्र कार्यालयले तीनथरी दस्तुर कायम गरेको छ। संरक्षण क्षेत्रभित्रका मानिसहरूले पाँच सय तिनुपर्छ। दार्चुला जिल्लाका स्थानीयले चाहि दुई हजार रुपियाँ प्रवेश दस्तुर बुझाउनुपर्छ।

बाँकी अन्य जिल्लाबाट आउनेहरूका हकमा तीन हजार दस्तुर कायम गरिएको छ। यो वर्ष कार्यालयले ३ हजार पाँच सय जनालाई यस्तो अनुमति पत्र दिएको छ। त्यतिनै सङ्ख्यामा अरू स्थानीय र केही भारतीयसमेत यो क्षेत्रमा प्रवेश गरिरहेको बताइन्छ। उनीहरुलाई यो दस्तुर तिराउनु संरक्षण कार्यालयको चुनौति बनेको छ। संरक्षण क्षेत्रका ९ वटा पोष्टले यसको व्यवस्थापन गरिरहेका छन्। हरेक पोष्टमा बस्ने एकदुई कर्मचारीलाई दस्तुर उठाउन नै कठिन भइरहेको छ।

‘अपि नाप्पा संरक्षण क्षेत्रभित्र २५ वटा उपभोक्ता समिति छन्। यहाँ सङ्कलन हुने राजस्वको करिब ३० प्रतिशत त्यहाँको विकासका लागि पठाउँदा पनि एउटा समूहले वर्षमा २ देखि ३ लाख हाराहारीमा मात्रै पैसा पाउँछ, यो यहाँको लागि नगन्य पैसा हो, यहाँका स्थानीयमा हामीले राजस्व तिरेर के फाइदा हुन्छ भन्ने गुनासो छ जसका कारण संरक्षण क्षेत्रको आम्दानीमा सङ्कुचन आइरहेको छ’ घिमिरे भन्छन् । गत वर्ष संरक्षण क्षेत्रले २ करोड ४४ लाख आम्दानी गरेको थियो। त्यसमध्ये ७८ लाख २६ हजार व्यवस्थापन परिषदमार्फत खर्च गर्ने गरी उपलब्ध गराइएको थियो।

*****

नेपालको सुदूर पश्चिमका तीन हिमालहरू अपी (७१३२ मीटर), व्यास (६६७० मीटर) र नाम्पा (६६५७ मीटर) लाई समेटेर तत्कालीन मन्त्रीपरिषद्को सगरमाथा फेदी कालापथ्थरमा सम्पन्न बैठकले २०६६ मंसिर १६ मा दार्चुलाका २१ गाविस क्षेत्र समेट्ने अपी नाम्पा संरक्षण क्षेत्र स्थापनाको निर्णय गरेको थियो। ६० हजार जनसङ्ख्या रहेको यो ठाउँमा समुद्री सतहको साढे ५ सय मीटरमाथिका विभिन्न पारस्थितिक प्रणालीहरू पाइन्छन्। संरक्षण क्षेत्र भए पनि ती पारिस्थितिक प्रणालीको संरक्षण अहिले सबैभन्दा ठूलो चुनौति रूपमा देखिएको छ।

नेपाल, भारत र चीनको सीमामा पर्ने यो ठाउँ सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिन्छ। भारतीय सुरक्षा निकायहरू उच्च पहाडमा पनि १२ महिना उपलब्ध छन् तर नेपालको सुरक्षा निकाय हिमपात सुरु हुनासाथ तलतिर झर्छ। त्यसको प्रत्यक्ष फाइदा भारतीयहरूले उठाउँदै आएको बताइन्छ। नेपाली पक्ष तलतिर झरेपछि भारतीय सुरक्षाकर्मीले नेपालतर्फका रुख काट्ने र लैजाने गरेका छन्।

दार्चुला बजार

यार्सागुम्बा सङ्कलनको समयमा समेत संरक्षण क्षेत्रले सुरक्षा निकायको परिचालनका लागि अतिरिक्त रकम उपलब्ध गराउनुपर्ने अवस्था छ। ‘हामीले भर्खरै पनि सशस्त्र प्रहरीलाई स्रोत उपलब्ध गराएर यार्सागुम्बाको सङ्कलनका क्रममा हुने घटना नियन्त्रणमा लगाएका छौँ। यसले मात्रै यो क्षेत्रको समस्या समाधान हुँदैन दीर्घकालीन रूपमा राज्यका सुरक्षा निकायको भरपर्दो तैनाथी चाहिन्छ” घिमिरे भन्छन्।

माथि खर्क र पाटनहरूमा फोहरको बिगबिगी छ, यत्रतत्र प्लाष्टिक फालिएका छन्। जथाभावी चरिचरन र सेतो गुँरासको विनाशले यार्साको भविष्यमाथि प्रश्न खडा गरेको अपी नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष चक्रसिंह ह्यागी बताउँछन्।


तस्बिर सौजन्य: कमल राज जोशी

संरक्षण क्षेत्र बारेमा यहाँको जनमत प्रष्ट विभाजित छ। संरक्षण क्षेत्र स्थापनापछि खासै फाइदा नभएको समुदायले यसमाथि प्रश्नचिन्ह खडा गरेका छन् भने ६० जना कर्मचारी सहितको संरक्षण क्षेत्र कार्यालय भौगोलिक रूपमा ठूलो ठाउँ भएकाले काम गर्न नसकिएको स्वीकार गर्छ।


तस्बिर सौजन्य: कमल राज जोशी

ताजा समाचार

सम्बन्धित समाचार