Friday, September 27, 2024

सुदूरपश्चिममा ६८ प्रतिशत धान रोपाइँ

कैलाली– मनसुन सुरु भएसँगै सुदूरपश्चिमका किसानहरू खेतमा धान रोपाइँ गर्न व्यस्त छन्।

आकाशे पानी पर्खिएर बसेका यहाँ किसानहरू वर्षा भएपछि धान रोपाइँ बढेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ।

गत हप्ता ४४ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको सुदूरपश्चिममा वर्षा हुँदा एक हप्तामै २३ दशमलव ९१ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका वागवनी विकास अधिकृत विकास भाटले बताए। ‘गत हप्ता ४४ प्रतिशत धान रोपाइँ भएको थियो तर, यो हप्ता वर्षा हुँदा २३ दशमलव ९१ प्रतिशत धान रोपाइँ भएको हो,’ उनले भने।

गत सालको तुलनामा सुदूरपश्चिम धान रोपाइँ भने सन्तोषजनक नभएको उनले बताए। असार अन्तिमसम्म सुदूरपश्चिममा ६८ दशमलव ३२ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष असार अन्तिमसम्म धान रोपाइँ ९० प्रतिशत भन्दा बढी भएको उनले बताए।

सुदूरपश्चिम क्षेत्रका अधिकांश क्षेत्रमा सिँचाई सुविधा नभएको र आकाशे पानीको भर पर्नुपर्ने भएका कारण कम रोपाइँ भएको वागवनी विकास अधिकृत भाटले बताए।

यो वर्ष सबैभन्दा बढी कञ्चनपुरमा ८० प्रतिशत र कैलालीमा ७० प्रतिशत धान रोपाइँ भएको छ। सबैभन्दा कम अछाममा ४५ प्रतिशत मात्र धान रोपाइँ भएको उनले बताए।

उनका अनुसार सुदूरपश्चिममा ४५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाई सुविधा छ। सुदूरपश्चिममा एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार