Friday, September 27, 2024

चक्रपथमा रोपियो २७ सय विरुवा (फोटो फिचर)

काठमाडौँ – वन तथा वातावरण मन्त्रालयको आयोजनामा सरकारले कोटेश्वरदेखि कलंकीसम्मको वृक्षरोपण कार्य सम्पन्न गरेको छ । वन मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाका अनुसार सो क्षेत्रमा करिब २७ सय विरुवा रोपिएको हो ।

‘कोटेश्वरदेखि कलंकीसम्म वृक्षरोपण गरेर सकियो,’ उनले भने, ‘अहिले ट्री-गार्डको (रोपिएको विरुवाको संरक्षणका लागी बनाईएको काठ वा तरको जाली) काम भइरहेको छ, दुई/तीन दिनमा त्यो पनि सकिन्छ ।’

वृक्षरोपण गरेका विरुवाहरु अहिले फक्रिन थालिसकेका छन् । अहिले उक्त विरुवाहरुलाई संरक्षण गर्नको लागि बार लगाउने काम पनि भइरहेको देखिन्छ । विरुवाको वरिपरि गोडमेल गर्नुको साथै सरसफाइ गर्ने काम भइरहेको देखिन्छ ।

सरकारले गत असार १४ गतेबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको हो । आर्थिक बर्ष २०७६/७७ लाई वृक्षरोपण बर्ष बनाउने उद्धेश्यले सरकारले वृक्षरोपण गर्ने कामलाई अगाडि बढाएको हो । आगामी आर्थिक बर्षमा देशभर पाँच करोड विरुवा रोप्ने लक्ष्य सरकारले राखेको छ ।

‘देशभर वृक्षरोपणको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बारेमा कार्ययोजना बन्दै छ,’ उनले भने, ‘भोलिबाट नयाँ आर्थिक बर्ष लाग्छ, त्यसपछि कार्ययोजना अनुसार देशभर रोपिने ५ करोड विरुवाको काम अगाडि बढ्छ ।’

केहि समय अगाडि चक्रपथ निर्माणसँगै त्यहाँको हरियाली विनाश भएको चर्को आलोचना भयो। सर्वत्र रुपमा भएको आलोचनालाई आत्मसाथ गर्दै सरकारले राष्ट्रिय वृक्षरोपण दिवशको अवसर पारेर वृक्षरोपणको काम सञ्चालन गरेको हो ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर प्रधानमन्त्री के.पी शर्मा ओलीले कोटेश्वरमा फलफुलका विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेका थिए ।

यसका लागि केन्द्रिय स्तरबाटै बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आर्थिक बर्षभरी वृक्षरोपण गर्नका लागि १५ करोड बजेट छुट्याएको छ । उक्त बजेट वन विभागमार्फत देशभरका सामुदायिक वन उपभोक्ता समितिलाई उपलब्ध गराई वृक्षरोपण गरिने भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार