Friday, September 27, 2024

नेपालमा आणविक ऊर्जा प्रयोगः आयातदेखि विर्सजनसम्म चुनौती

काठमाडौँ । विकसित देशहरुमा न्युक्लियरको प्रयोग परमाणु हतियारदेखि विद्युत उत्पादनसम्ममा भइरहेको छ । विभिन्न देशले यसलाई आफ्नै ढङ्ले प्रयोग गरिरहेका छन् ।

पेट स्क्यान गर्नका लागि आवश्यक हुने रेडियोधर्मी पदार्थ विदेशबाट  सजिलै आयात गर्न सकिन्छ तर भने न्युक्लियर सजिलै आयात गर्न सकिँदैन । क्यान्सरको उपचारमा प्रयोग गरिने आइसोडोप एक किसिमको आणविक वस्तु नै हो ।

यो संयन्त्र नेपालमै बनाउन सकिन्छ तर प्रविधि नहुँदा पाँच वर्षअघि पूर्व राष्ट्रपति डा. रामवरण यादव पेट स्क्यान गर्न विदेश जानु परेको थियो । विकसित देशले क्यान्सरको उपचारका लागि यस्ता उपकरण आफैँ बनाएर प्रयोग गर्ने गरेका छन् जुन हाम्रो सन्दर्भमा पनि त्यति ठूलो विषय चाहि होइन र यसलाई नेपालमा ल्याएर सजिलै प्रयोग गर्न सकिन्छ ।

त्यसैले पारमाणविक भट्टी सञ्चालन शान्तिपूर्ण प्रयोजनका प्रयोग हुने हो भने यसलाई रोक्न नहुने तर नियमन गर्ने निकाय चाहि आवश्यक रहेको क्यान्सर विशेषज्ञहरू बताउँछन् । पारमाणविकको स्रोत युरेनियम र प्रोट्रोनियम हो । यसलाई रेडियोधर्मी तत्व विकिरण भनिन्छ जुन तत्वहरूले ऊर्जा निकाल्छन् । यी बाहेक रेडियमले पनि रेडियोधर्मी विकिरण निकाल्छ ।

नेपालमा यसको प्रयोग स्वास्थ्य क्षेत्रमा धेरै छ । परमाणुको प्रयोग विभिन्न रोगको निदान र उपचारमा भइरहेको छ । रोगको निदानमा जस्तो एक्सरे, सिटीस्क्यान, पेट स्क्यान र क्यान्सरको उपचारमा परमाणु स्रोतको प्रयोग भइरहेको छ । जस्तो रेडियोथेरापी, कोबाल्ट, ब्याकी थेरापी, लिनियोल थेरापी लगायतका प्रविधिमा परमाणुको प्रयोग हुने गर्दछ ।

स्वास्थ्य क्षेत्रमा क्यान्सरको उपचारमा रेडियोधर्मी पदार्थको प्रयोग हुँदै आएको छ । नेपालमा क्यान्सरको उपचारमा रेडियोथेरापी सेवा अपुग छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक १० लाख जनसङ्ख्याका लागि एउटा रेडियोथेरापी आवश्यक रहेको उल्लेख गरेपनि पनि नेपालको ३ करोड जनसङख्याका लागि ३ –४ स्थानमा मात्र यो सेवा उपलब्ध छ । तर २०÷ ३० वटा यस्ता सेवा हुनुपर्ने विज्ञहरुको भनाई छ ।

पारमाणविक विधेयकको आवश्यकता किन ?
रेडियोधर्मी पर्दाथको प्रयोग गर्ने सम्वन्धमा हामीकहाँ कानुुनको अभाव रहेका कारण यो आयात गर्न निकै समस्या हुने गरेको छ । बिरामीका लागि आवश्यक पारमाणविक स्रोतहरू ल्याउँदा पनि अन्तराष्ट्रिय कानुन मान्नुपर्ने हुन्छ ।पारमाणविक शक्ति सम्बन्धी नेपालसँग आफ्नै कानुन छैन । नेपालको आफ्नै कानुन नहुँदा, अन्तर्राष्ट्रिय कानुनमा रहेर स्रोत ल्याउनु पर्छ, जुन आफैमा निकै कठिन छ । स्वास्थ्य मन्त्रालय एक्सरे मेसिनहरू र स्वास्थ्य सम्बन्धी अन्य उपकरण ल्याउनकै लागि सामान्य कानुनी प्रक्रिया अपनाएर अघि बढ्ने गरेको छ ।

तर, रेडियोधर्मी पर्दाथको आयात गर्ने क्रममा ठूलो समस्या निम्तिने गरेको छ । यसले गर्दा सरकारी अस्पतालमा यस्ता सेवा वर्षौँदेखि रोकिएका हुन्छन् । निश्चित समयसम्म यसको प्रयोग भएपछि फेरि स्रोत ल्याउनुपर्ने हुन्छ तर बिक्री गर्ने संस्थाले जिम्मेवारी नलिने र डिस्पोज गर्नका लागि बिक्री गरेका संस्थाले फिर्ता नलिने लगायतका समस्या छन । कानुनको अभावमा यसका लागि स्वास्थ्य मन्त्रालय धाइरहनुपर्ने र यसबारे पटकपटक बुझाइरहनुपर्ने झन्झट छ

भक्तपुर क्यान्सर अस्पतालले दुई प्रकारका रेडियोधर्मी प्रयोग गरिरहेको रेडिएशन अंकोलोजिष्ट डा. उज्वल चालिसेले जानकारी दिए । कोबाल्ट सोर्ससहितको टेलिथेरापी मेसिनमा प्रयोग गर्न ल्याइने रेडियोधर्मी पर्दाथ वर्षौँसम्म प्रयोग हुने गरेको छ । अर्थात १० वर्षसम्म प्रयोग हुन्छ र ब्य्राकी थेरापीमा आइरेडियम रेडियोएक्टिभ सोर्स प्रयोग हुन्छ, जुन महिलाको पाठेघर क्यान्सर उपचारमा नभइनहुने थेरापी हो । यसको ६ महिनासम्म मात्र प्रयोग हुन्छ । भक्तपुर अस्पतालमा प्रयोग भइरहेको कोबाल्ट सोर्स अब धेरै समयसम्म काम गर्न मिल्दैन । यो सोर्स, अब बढीमा एक वर्ष मात्र प्रयोग गर्न सकिने डा चालिसे बताउँछन्।

विर्सजनमा चुनौती थपिँदै
रेडियमको आविष्कार भएपछि स्वास्थ्य क्षेत्रमा यसको प्रयोग भएको पनि दशकौँ भइसक्यो । रेडियमको आविष्कार भएपछि लाखौँ मानिसले यसबाट क्यान्सरको उपचार पाएका छन् । अझ एक्सरेबाट झन करोडौँ मानिसले सेवा लिएर रोग निदान गरेका छन् । सिटी स्क्यानमा पनि रेडियोधर्मी पर्दाथ आवश्यक हुन्छ । यसमा आयोडिन, बेरियम र ग्यालोलिनियम लगायतका तत्व प्रयोग हुने न्युक्लिएर वैज्ञानिक डा कमलकृष्ण श्रेष्ठले जानकारी दिए । यी सबै रेडियोधर्मी विकिरण पैदा गर्ने तत्वहरू हुन् । यसले शरीरका रोग निदानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

कोबाल्ट स्रोत सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील छ । यसको आयातदेखि प्रयोगसम्ममा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । न्युक्लियर राखेको मेसिनमा काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक सबैभन्दा बढी जोखिममा रहन्छ । लामो समय रेडियसनमा काम गर्नेलाई हुने भनेको ब्लड क्यान्सर नै हो । यो विभागमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रत्येक साता स्वास्थ्य परीक्षण गर्ने गरिन्छ । त्यस बीचमा कसैलाई असर गरेको देखिएमा आराम गर्न लगाउने र औषधी खुवाउने गरिन्छ । यसरी जाँच गरेर क्यान्सर लाग्नबाट बचाउने भएकाले काम गर्ने पनि सुरक्षित नै रहने डा. तारा मानन्धरको दाबी छ । २ दशक लामो समय वीर अस्पतालमा रेडियोलोजी विभागमा प्रमुखका रूपमा काम गरेका उनी स्रोत लिकेज भएर वीरमा समस्या कहिल्यै नआएको तर सुरक्षा भने विशेष रूपमा अपनाउन जरुरी रहेको बताउछन् । धेरै एक्सपोज हुने भएकाले भने लामो समय यो विभागमा काम गरेपछि सुरक्षाका हिसाबले निश्चित समयपछि त्यो विभागबाट अन्त जान उपयुक्त हुने उनको सुझाव छ ।

जीवजन्तु, बोटबिरुवा र वातावरणमा पनि असर
अर्बुद रोग निवारणका लागि कोबाल्टको प्रयोग हुन्छ । कोबाल्टले गामा किरण पैदा गर्छ, जुन मानव स्वास्थ्यका लागि अति हानिकारक मानिन्छ । यो घातक किरण हो । रेडियो थेरापीमा प्रयोग हुने कोबाल्ट ६० हो । यो नष्ट भएर जाने क्रममा पनि यसले हानिकारक विकिरणहरू फालिरहन्छ । यसको सही तरिकाले विसर्जन गरिएन भने नष्ट भएर जाने क्रममा पनि विकिरण पैदा भइनै रहन्छ । यस्तो अवस्थामा यसले मानवसँगै जीवजन्तु, बोटबिरुवा र वातावरणमा समेत असर पु¥याउँछ । त्यसैले यसको व्यवस्थापन र विसर्जन चुनौतिपूर्ण छ । यसको उपयोग धेरै भए पनि विर्सजनमा चुनौति थपिँदै छ । निश्चित समयसम्मको प्रयोगपछि यसलाई ‘रिप्लेस‘ गर्नुपर्ने हुन्छ । यसका लागि जुन देशबाट ल्याएको हो त्यही देशमा फिर्ता पठाउनुपर्ने अन्तर्राष्ट्रिय कानुन छ । तर, नेपालमा अत्यधिक प्रयोगमा आएका कोबाल्ट सोर्सको प्रयोग विदेशमा हुन छोडेको छ । किनकि यो प्रविधि आउट अफ डेट, अर्थात पुरानो भइसक्यो । त्यसैले उनीहरू यो फिर्ता लिनुपर्ने बाध्यकारी अवस्थामा छैन । अन्तराष्ट्रिय परमाणु सम्बन्धी संस्थाले नै यसको सङ्कलन र व्यवस्थापन गर्ने गरेको छ । अहिले बिस्तारै जुन देशले प्रयोग गरेका छन् उनीहरूले नै डिस्पोज गर्नुपर्ने भन्ने बाध्यकारी नियम पनि आएको छ । त्यसैले यी सबै समस्या सम्बोधन गर्ने खालको कानुन आवश्यक छ । पारमाणविक विज्ञान प्रविधिको प्रयोग मानव जीवनका लागि अत्यन्तै आवश्यक छ, तर खतरा पनि त्यत्तिकै छ । यसको प्रयोग पछि विसर्जनमा सावधानी अपनाइएन भने मानिसलाई मात्र नभई जीवजन्तु बोटबिरुवा र वरपरको वातावरणमै खतरा निम्त्याउँछ ।

सांसदहरू अझै अन्योलमा
पारमाणविक विधेयकका विषयमा कानुन निर्माता सांसदहरू नै स्पष्ट छैनन् । उनीहरू अझै अन्योलमा छन् । त्यसैले विधेयकले कानुनी रूप लिनुअघि यसबारे स्पष्ट भएर निर्णय गर्न जरुरी छ । यसका लागि सांसदहरूले यस विषयका प्राविधिकहरूसँग घनिभूत रूपमा छलफल बहस गर्न जरुरी रहेको विज्ञहरूको सुझाव छ । यसका लागि नेपालमा रहेका तथा विदेश पलायन भएका यस विषयमा सरोकार राख्ने विज्ञहरूसँग सरकारले छलफल गर्न जरुरी छ ।

आइएइएको सदस्य राष्ट्र नेपालले यो कानुन ल्याउनैपर्ने
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्र्तराष्ट्रिय पारमाणविक ऊर्जा निकाय आइएईएले यसका लागि विभिन्न प्राविधिक, वैज्ञानिक, सरकारका प्राज्ञिक, प्रतिनिधिसभाका सांसद, संसदीय समितिका सदस्यहरूसँग छलफल गर्दै विधेयक ल्याउने तयारीमा छ । नेपाल सन् २००८ देखि आइएइएको सदस्य राष्ट्र भएकोले नेपालले यो कानुन ल्याउन जरुरी भएको हो । नेपाल यसको सदस्य राष्ट्र भएसँगै २०६४ सालमा पारमाणविक नीति ल्याइसकेको न्युक्लिएर वैज्ञानिक डा कमलकृष्ण श्रेष्ठले बताए ।

आइएइएको सदस्य राष्ट्र भएकाले यसअनुसार उसको प्रावधानमा रही नेपालले काम गर्नुपर्ने हुन्छ । कानुन नहुँदा रेडियोधर्मी पर्दाथको प्रयोग र आयात गर्दा आइपर्ने समस्या समाधान गर्ने दायित्व कसको भन्ने नै स्पष्ट छैन् । अनुगमनका लागि एउटा निकायको आवश्यकता देखिन्छ किनभने यो अत्यावश्यकीय सेवा हो भनेर तोक लगाएको भरमा अहिले काम भईहेको छ । कानुनी अड्चनले महिनौँसम्म सेवा अवरुद्ध भएका छन् । सोर्स फिर्ता पठाउन र आयात गर्नका लागि पनि कानुन आवश्यक छ र यसका लागि अब बन्ने कानुनले सम्बोधन गर्नेमा डा. चालिसे आश्वस्त छन् । तर, अब आउने विधेयक नियमन र नियन्त्रण गर्ने तरिकाले आयो भने त्यो स्वीकार्य नहुने सरोकारवालको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार