Friday, September 27, 2024

बाढीपहिरोमा परी १७ जनाको मृत्यु

काठमाडौँ—बिहीबार बेलुकादेखिको अबिरल वर्षापछिको बाढीपहिरोका कारण मुलुकका विभिन्न जिल्लामा १७ जनाको मृत्यु भएको छ। घटनामा ६ जना बेपत्ता भएको र ७ जना घाइते भएको प्रहरी प्रधान कार्यालय सञ्चार कक्षले जनाएको छ।

यद्यपि, गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीपहिरोका कारण १५ जनाको मृत्यु भएको जनाएकाे छ।

प्रहरीका अनुसार खोटाङ र काठमाडौँमा ३-३ जनाको ज्यान गएको छ, भने काभ्रे र भोजपुरमा २-२ जनाको मृत्यु भएको छ। त्यस्तै, ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १-१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षाबाट प्रभावित स्थानमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ। पछिल्लाे २४ घन्टामा मध्य र पूर्वी नेपालको तराई र पहाडी क्षेत्रमा अबिरल वर्षा भएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मध्य र पूर्वी नेपालको तराई र पहाडी क्षेत्रमा अबिरल वर्षा हुँदा  बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत २० जिल्ला प्रभावित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार