Friday, September 27, 2024

वर्षाका कारण बजारक्षेत्र र सरकारी कार्यालय जलमग्न

लहान -लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, “अहिलेसम्म बाढी पानीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखेका छौँ ।” बाढीले पु¥याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ । खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पु¥याउने गरेको छ । सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार