Saturday, September 28, 2024

माछा संरक्षणमा जुटे स्थानीय

डडेल्धुरा–आलितालगाउँपालिका –३ रख्सन गाउँका स्थानीय रगुंनखोलाको माछा संरक्षणमा जुटेका छन्।

बाह्रै महिना माछा मार्ने गरेका यहाँका स्थानीय आज भोलि यही खोलाका माछा संरक्षणमा एक जुट भएका छन्। रगुंलखोलाको माछा संरक्षणकोे नेतृत्व खिमादेवि रानामगरले गरेकी छन्। उनले माछा संरक्षण गर्दा हुने फाइदाबारे गाउँ–गाउँमा भन्दै हिँड्छिन्।

विनाशकारी तरिकाले रगुंन खोलामा माछा मार्न थालेपछि विगतको तुलनामा अहिले माछाको सङ्ख्या,आकार र प्रजातिमा ह्रास आएको छ।

विगतमा पानीमा विषादी हाल्ने, करेन्ट लगाउने, जङ्गली जडीबुटीको विषादी बनाई प्रयोग गर्ने, खोला थुनेर माछा मार्ने, तीर चलाउने लगायतका विनाशकारी विधिबाट माछा मार्ने गरेका थिए। यही गलत तरिकाका कारण खोलामा माछा पाउन छाडेको अनुभव स्थानीय गरेका छन्।

‘पहिलाको तुलनामा खोलामा माछा निकै कम पाउन थालेका छौँ। पहिला तरकारीको दुःख हुँदैन थियो। खोलामा गयो। माछा मार्‍यो खायो। तर,अहिले खोलामा माछा नै पाइँदैन,’आलिताल माछा व्यवस्थापन तथा संरक्षण समूहकी अध्यक्ष खिमादेवी रानामगरले भनिन्।

उनका अनुसार रगुंन खोलामा असला,करंगा,भोटी,धामी,गडेरा,बुदुनालगायका माछा पाइन्छ।

खिमादेविको नेतृत्वमा गत मङ्सिर महिनामा ११ सदस्य आलिताल माछा व्यवस्थापन तथा संरक्षण समूह गठन भएपछि रगुंनखोलाका माछा संरक्षण हुनथालेको हो।

माछा मार्ने गलत तरिकाका कारण स्थानीय जातका माछा आजभोलि पाउन छाडेको उनी बताउँछिन्।

‘पहिला पाइने धेरै स्थानीय जातका माछा आजभोलि पाउन छाडेका छन्। विष र करेन्ट लगाउँदा अन्य माछाहरूमा पनि दिर्घकालीन असर गर्दो रैछ भन्ने महसुस हामीले अहिले गरेका छौँ,’अध्यक्ष रानामगरले भनिन्।

स्थानीय र समितिको समन्वयमा विष तथा करेन्ट लगाएर माछा मार्नेलाई कारबाहीका लागि नीति बनाउन लागेका छन्। ‘हामीले खोलामा गलत तरिका अपनाएर माछा मार्नेहरूलाई जरिवाना गर्नेका लागि नीति बनाएर गाउँपालिकामा बुझाउने तयारीमा छौँ,’अध्यक्ष रानामगरले भनिन्।

खोलामा माछा कम त्यस माथि सुख्खायाममा नदीमा पानी निकै कम बग्दा संरक्षणमा समेत थप चुनौती थपिएको उनी बताउँछिन्। ‘माछालाई पानी चाहिन्छ। बर्खामा त पानीको कुनै समस्या हुँदैन। तर,सुख्खायाममा खोला समेत सुक्छ। त्यस कारण माछा संरक्षणमा चुनौती छ,’उनले भनिन्।

समितिका मान्छे दिनको एक पटक खोलाको अनुगमनमा जान्छन्। समितिका सदस्यहरूले बेला(बेलामा गाउँमा माछा संरक्षण सम्बन्धी जुलुस समेत निकाल्ने गरेको छन्।

ताजा समाचार

सम्बन्धित समाचार