Saturday, September 28, 2024

अव्यस्थित तारलाई जमिनमुनि गाड्ने प्रक्रिया अगाडी बढ्यो

काठमाडौँ । काठमाडौँका सडक पेटीमा रहेका पोलहरू, तिनै पोलमा टाँगिएका बिजुली, इन्टरनेट र केबल लगायतका तारले सहरलाई नै कुरुप बनाएको ब्यापक जनगुनासोपछि त्यसलाई भूमिगत गर्ने प्रक्रिया अगाडी बढीसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

पोलमा टाँगिएका तारहरू एकै ठाउँमा गुजुट्याएर बेरिएका छन् । तारमा चराहरूले गुँड बनाएका छन् । कतिपय ठाउँमा बिजुलीका तारमाथि अड्केका कपडा लगायतका विभिन्न वस्तुले सहरलाई अझै कुरूप बनाउनुका साथै दुर्घटनाको अवस्था सिर्जना गरेका छन् । भूमिगत गर्ने कार्य केही समय लाग्ने भएपनि काम शुरु भईसकेको र अव विस्तारै तार भूमिगत गरिने सरकारी अधिकारीहरुको भनाई छ ।

अव्यवस्थित रूपमा छरिएका तथा झुण्डिएका तारबाट विधुत् सट भइ आगलागीका घटना दिन प्रतिदिन बढेका छन् । सडक वरपर छरिएका नाङ्गा तारले सर्वसाधारणको अकालमै ज्यान लिने समेत गरेको छ ।

व्यापक जनगुनासोसँगै पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्कमा तार अण्डरग्राउण्ड गर्ने काम सुरु गर्न प्राधिकरणले इण्डियन कम्पनीसँग सम्झौता गरी काम पनि सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम सकेर डिजाइनको काम सुरु गर्दै छ । ‘जमिन नखनेसम्म सर्वसाधारणलाई काम सुरु भएको छैन भन्ने लाग्छ,’ उनले भने, ‘तर सर्भेको कामसँगै अण्डरग्राउण्डको काम सुरु भएको हो, अहिले सर्भे सकेर डिजाइनको काम भइरहेको छ ।’

डिजाइनको सम्पूर्ण काम सकेपछि जमिन खन्ने काम कम्तीमा पनि ३४ महिना लाग्ने सिलवालको भनाइ छ । ‘साढे २ वर्षमा काम सक्ने गरी ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ,’ उनले भने, ‘कामको गतिलाई हेर्दा सोही समयभित्र सकिने देखिन्छ ।’ दोस्रो चरणको अण्डरग्राउण्डका लागि पनि अन्तराष्ट्रिय बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए । दोस्रो चरणमा बालाजु, कीर्तिपुर, कुलेश्वर, जोरपाटी र बानेश्वर वितरण केन्द्र रहेको उनले बताए ।

काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले तारहरू अण्डरग्राउण्ड गर्ने कामलाई महानगरले सहयोग गर्ने बताएका छन् । हाकाहाकीसँग कुरा गर्दै उनले भने, ‘विद्युत् प्राधिकरणले गर्न लागेको यो काम सुरु भएलगत्तै हामी सहयोग गर्छौँ ।’

बिजुलीका तारले निम्त्याएको समस्यालाई न्यूनीकरण गर्ने भन्दै सरकारले गत वर्ष तारहरूलाई अण्डरग्राउण्ड गर्ने प्रतिवद्धता जनाएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले सामाजिक सञ्जालमार्फत तारले सहरलाई कुरूप बनाएको र विभिन्न खालका समस्या निम्त्याएकाले यसलाई समाधान गर्न सहयोग पु¥याउने भन्दै अण्डरग्राउण्डको काम गर्न लागेको बताएका थिए ।

सोही निर्णयअनुसार अन्तराष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । त्यही बोलपत्रअनुसार फागुनमा ठेकेदार छनौट गरी जेठदेखि काम सुरु गर्ने बताइएको थियो । यसरी अव्यवस्थित तारलाई अन्डरग्राउण्ड गर्न सके सहर सुन्दर हुनुका साथै विभिन्न खाले दुर्घटना पनि हुने थिएनन् । यसलाई सफल पार्न सरकार र सरोकारवाला निकायले पूर्णरुपमा सहयोग गर्नु पर्छ ।

सडकमा यत्रतत्र छरिएका बिजुली, केबल तथा नेटका तारले पैदलयात्रीलाई सास्ती दिनुको साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ । लामो समयदेखि सर्वसाधारणले तारलाई सकेसम्म छिटो भूमिगत बनाउन आग्रह गरिरहेका छन् । उनीहरुले यसलाई सरकारको लापरबाही समेत भनेका छन् ।

मैतीदेवीमा बस्दै आएका तुलसीराम ढकालले सरकारको लापरबाहीले गर्दा यस्ता संवेदनशील समस्याको समाधान हुन नसकेको बताए । ‘अव्यवस्थित तारहरूले सर्वसाधारणको जीउज्यानमाथि खेलबाड भइरहेको छ भने अर्कोतर्फ सहरको सुन्दरता नै कुरुप भएको छ,’ उनी भन्छन्, ‘तारहरू व्यवस्थापन गर्ने काम त्यस्तो गाह्रो पनि होइन ।’ बिजुलीको पोलमा मात्रै नभएर हिँड्ने बाटोमा समेत तारहरू छरिएका छन् । ती अव्यवस्थित तारबाट जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

ठमेलमा स्थायी बासिन्दा सुन्दर खड्का तारले सडकलाई कुरुप बनाएको बताउँछन । ‘अव्यवस्थित तारहरूले सहरको सुन्दरता बिगार्नुको साथै दुर्घटना पनि बढाएको छ,’ उनले भने, ‘यत्रतत्र छरिएका र काम नलाग्ने तारहरू हटाएर सरकारले उचित व्यवस्थापन गरोस् भन्ने चाहाना छ ।’ यसरी छरिएका तारहरूले नै सहरलाई फोहोर बनाएको हो भन्ने उनको तर्क छ ।

ताजा समाचार

सम्बन्धित समाचार