६ करोड लगानीमा शुरू भयाे कमलपोखरीकाे पुनर्निमाण

काठमाडौँ – ऐतिहासिक महत्त्व बोकेको काठमाडौको कमलपोखरीको पुननिर्माण शुरु भएको छ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले विहीबार संयुक्त रुपमा शिलान्यास गर्दै कमलपोखरीको पुननिर्माण शुरु गरेका हुन्।

कमलपाेखरी पुनर्निर्माणकाे शिलान्यास गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ

९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरिएको पोखरी पुननिर्माण तथा सौन्दर्यीकरणको काम धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको छ।

ठेकेदारलाई महानगरले असार ६ गते कार्यादेश दिएको हो। २०७७ असार १५भित्र निर्माणका सबै काम सक्नु पर्ने शर्तमा निर्माण पक्षले पार्क भित्र पोखरी वरीपरी ठूला—ठूला ढुंगाको छापिएको सिंढी बनाउने महानगरको भनाई छ।

महानगरका अनुसार पार्क अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ। पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना—साना पोखरी बनाइनेछन्। आगन्तुकलाई बस्नका लागि चौताराहरू पनि निर्माण गरिनेछन्। पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्म भित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ। त्यहाँ खुल्ला व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतर्फ मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइनेछन्।

पोखरीको पुननिर्माण गर्न महानगरको करिअर क्याम्पमा आएका आर्किटेक्ट इञ्जिनियर प्रियङ्का प्रधान, सिभिल इञ्जिनियर नितेष श्रेष्ठ र प्रभात गौत्तमले डिजाइन गरेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार