खडेरीले धान रोपाइँ प्रभावित

ओखलढुंगा – आकासेपानीमा निर्भर यहाँको खेतीमा यसपालीको लामो खडेरीको असर परेको छ। खडेरीले धान उत्पादन घट्ने भएको छ। अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन्।

आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै शुरु भएको छैन। विगतका वर्षमा मध्य असारमा रोपाइँको काम अन्तिम चरणमा पुग्ने गरेको थियो। लामो खडेरीले समयमै धान रोप्न नपाउँदा यसको उत्पादनमै समस्या हुने किसानको चिन्ता छ।

खडेरीको समस्या र सिँचाइ अभावका कारण रोपाइँको काम गर्न नसकेको पोकलीका किसान राम घिमिरेले बताए। “खडेरीले चौपट पार्‍यो, पोहोरतिर यतिबेला रोपाइँको काम आधाभन्दा बढी सकिन्थ्यो, यो पटक शुरु नै भएन”, घिमिरेले भने, “झनझन हिउँद जस्तो घाम चर्केर खेतबारी सुक्यो, अब त पानी परे पनि रोप्ने बीउ छैन, सुकेर कामै नलाग्ने भयो।” सिँचाइको उपयुक्त व्यवस्था भएको जिल्लाको खिजीदेम्बा गाउँपालिका र केही अन्य खोला किनार नजिकका खेतमा मात्रै रोपाइँको काम भएको छ।

ओखलढुङ्गाको चार हजार ५०० हेक्टर जमीनमा धानखेती हुने गरेको छ। कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाका अनुसार तीमध्ये करीब २२० हेक्टर जमीनमा मात्रै रोपाइँ शुरु भएको छ। सुनकोशी, दूधकोशी र लिखु नदी आसपासमा पर्ने तल्लो भू–भाग जिल्लाको सुक्खाग्रस्त क्षेत्र हो। यो क्षेत्रमा खेतीबाली लगाउन खडेरीका कारण समस्या भएको छ। लामो खडेरीका कारण बारीमा लगाएको मकै र धानको बीउ सुकेर नष्ट भएको चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष निर्मला रैका मगर बताउँछिन्। खडेरीको पीडा सुनाउन किसान गाउँपालिकामा आउने गरेको पनि उनले बताइन्। “घुर्‍यानमा लगाएको तरकारीसमेत खडेरीले खायो, मान्छेले के खाने होला भन्दै सर्वसाधारण हामीसँग सोध्न आउँछन्”, उनले भनिन् “हाम्रो गाउँपालिका सुक्खाग्रस्त हो, खानेपानीकै सङ्कट छ। झन सिँचाइका लागि त अहिले केही गर्न सक्ने अवस्था नै छैन। जिल्लाका किसान आकाशे पानीको प्रतीक्षामा छन्।”

बढ्दो जलवायु परिवर्तन, पर्यावरण विनाश र विसं २०७२ मा गएको भूकम्पले गर्दा ओखलढुङ्गाका लिखु, सुनकोशी र दूधकोशी करिडोरमा बसोबास गर्ने बासिन्दाले खडेरीको मार खेप्न बाध्य भएका छन्।

यहाँका मुख्य बाली मकैलगायत अन्य बाली पनि अघिल्लो वर्ष झैँ यो वर्ष पनि सुकेर मरिसकेका छन्। गत वर्ष पनि जिल्लाका किसानले खडेरीको मारले अन्न भित्र्याउन पाएका थिएनन्। पूर्णप्रसाद न्यौपाने /रासस

ताजा समाचार

सम्बन्धित समाचार