जलवायु परिवर्तनले नेपालमा बढ्दैछ मिचाहा वनस्पति

काठमाडौँ – जलवायु परिवर्तनको कारण नेपालमा मिचाहा प्रजातिका वनस्पतिहरू फैलदै गएको हालै प्रकाशित एक वैज्ञानिक अनुसन्धानले देखाएको छ।

नेपाली अनुसन्धानकर्ताहरू ग्लोवल इन्टिच्यूट फर इन्टरडिसिप्लिनरी स्टडिजका अध्येता उत्तमबाबु श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक भरतबाबु श्रेष्ठले संयुक्त रुपमा गरेको अनुसन्धानले जलवायु परिवर्तनका कारण नेपालमा सिघ्र फैलने खालका वनस्पति बढ्दै गएको जनाएको हो।

उक्त अनुसन्धानमा नेपालमा पाइने सिध्र फैलने २६ प्रजातिका मिचाहा वनस्पतिहरूमध्ये २४ वटा प्रजातिका हालको र सन् २०५० को संभावित वासस्थानको अवस्था केलाइएको छ।

अनुसन्धानकर्ताका अनुसार २४ मध्ये १६ प्रजातिका वनस्पतिहरूको वासस्थान भविष्यम ाझनै फैलन् सक्ने छ भने बाँकी ८ प्रजातिका वनस्पतिहरूको वासस्थान भविष्यमा घट्न सक्नेछ।

यसविषयमा बोल्दै अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठ भन्छन्, ‘हामीले यस अनुसन्धानमा त्यस्ता वनस्पतिहरू बढी मात्रामा पाइने क्षेत्रहरू (हट स्पट) को पनि विश्लेषण गरेका छौं र त्यस्ता ठाँउहरूको भविष्यमा हुने फैलाहट पनि हेरेका छौं ।’ उनका अनुसार जलवायू परिवर्तनका कारण भविष्यमा धेरै मिचाहा प्रजातिहरूको लागि उपयुक्त हुने वासस्थानहरूको घनत्व र सीमाक्षेत्र दुवै फैलन सक्नेछ। वर्तमान अवस्थामा देशको करिब २३ प्रतिशत भूभाग मिचाहा प्रजातिहरूको उपयुक्त वासस्थानको उच्चघनत्त्व भएको क्षेत्रमा पर्दछ भने भविष्यमा त्यो क्षेत्र ५ प्रतिशतले वृद्धि हुनेछ र त्यस्तो वृद्धि देशको सबै जसो भू–उपयोगको किसिम, प्रदेश, भौगोलिक क्षेत्र र हावापानीमा हुनेछ।

‘भविष्यमा मुख्यतः मिचाहा प्रजातिका वनस्पतिहरू उच्च हिमाली भेगमा र दक्षिणमा अहिले नपाइएका ठाँउमा सर्न सक्नेछन्। हाम्रो अनुसन्धानका अनुसार पाँच नम्बर प्रदेश मिचाहा प्रजातिको वासस्थानको हिसाबले अहिलेको लागि स्वर्ग हो,’ श्रेष्ठले भने।

अर्का अनुसन्धानकर्ता भरतबाबु श्रेष्ठका अनुसार, नेपालको उच्च पहाडी भेगमा भइरहेको बढ्दो सडक विस्तार, पर्यटन र व्यापारको बढोत्तरीले मिचाहा प्रजातिहरूको फैलाहट झनै बढ्न सक्छ। सडक विस्तार र यातायातको विस्तारले मान्छेलाई मात्रै होइन मिचाहा प्रजातिका वनस्पतिहरूलाई पनि ओसारपसार गर्दछ। सडक बनाउँदा खनिएको नयाँ ठाँउमा मिचाहा प्रजातिहरू उम्रने र फैलने बढी संभावना हुने उनी बताउँछन्।

नेपालमा मिचाहा प्रजातिका वनस्पतिको फैलावट १५ वर्ष अघिका तुलनामा हाल उच्च क्षेत्रहरूमा बढी फैलिरहेको छ। अर्थात मिचाहा प्रजातिका वनस्पतिहरू बढी उचाईमा चढिरहेका छन्।

तिनिहरूको फैलाहट भविष्यमा झनै फैलनसक्ने कुरा उक्त अनुसन्धानको प्रमुख निष्कर्ष रहेको अनुसन्धानकर्ताको भनाइ छ। तर, मिचाहा प्रजातिको नियन्त्रणको उपायहरूको बारेमा पर्याप्त काम हुन सकिराखेको छैन। सरकारी स्तरमा यसको नकारात्मक असरको बारेमा जानकारी भएता पनि यसलाई नियन्त्रण गर्न सरकारी स्तरबाट प्रयासहरू खासै भएको देखिदैन्। मिचाहा प्रजाति नियन्त्रणको लागि बनेको राष्ट्रिय रणनीति झण्डै तीनवर्ष अगाडि मस्यौदा गरिएको भएता पनि हालसम्म अनुमोदनहुन सकेको छैन। नेपाल जलवायू परिवर्तनको हिसाबले उच्च जोखिम भएको मुलुक हो।

मिचाहा प्रजातिको कृषि क्षेत्रमा हुने प्रभावको हिसाबले पनि नेपाल उच्च जोखिम भएको विश्वकै तेश्रो मूलुकमा पर्दछ। कृषि उत्पादनहरूको बढ्दो आयातसँगै यो जोखिम भविष्यमा झनै बढ्ने सम्भावना छ। नेपालमा सबै किसिमको हावापानी उपलब्ध भएको र भारतसँगको खुल्ला सीमानाको कारण पनि मिचाहा प्रजातिका वनस्पति वा जीवजन्तु चाँडै फैलने र स्थापित हुन सक्ने संभावना हुन्छ। केही समय अघि सार्वजनिक भएको जैविक विविधता र पर्यावरणीय सेवा सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रतिवेदनका अनुसार मिचाहा प्रजाति जैविक विविधताको लागि विश्वकै एउटा ठूलो खतरा हो।

उचित समयमा नै व्यवस्थापन गर्न नसकिएमा मिचाहा प्रजातिका वनस्पतिहरू ठूलो क्षेत्रमा फैलने र तिनीहरूलाई नियन्त्रण र विनाश गर्न ठूलो मात्रामा धन राशी खर्च गर्नु पर्दछ। उदारहणको लागि फेवातालमा फैलिएको जलकुम्भी र चितवन राष्टिय निकुन्जमा फैलिएको माइकेनियाझार लाई लिन सकिन्छ। अनुसन्धानकर्ताद्वयका अनुसार उक्त अनुसन्धान नेपालमा गरिएको यस्तो किसिमको हालसम्मकै सबैभन्दा विस्तृत र ठूलो अनुसन्धान हो।

‘यस अनुसन्धानको नतिजाले नीति निर्माता, संरक्षणकर्मी, किसान सबैलाई मिचाहा प्रजातिको प्रभाव र भविष्यमा हुनसक्ने संकटको बारेमा महत्त्वपूर्ण सन्देश प्रवाहगरेको छ,’ वनस्पतिशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक भरत बाबु श्रेष्ठले भने।

ताजा समाचार

सम्बन्धित समाचार