काठमाडौँ – संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्नेगरी सडक बाटो नबनाउन तथा त्यसको स्तरोन्नति नगर्न नेपाल सरकारलार्इ आग्रह गरेको छ।
विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज भित्र नयाँ बाटो बनाएमा र व्यापारिक प्रयोगको लागि भएका बाटोहरूको मर्मत कार्य गरेमा निकुञ्जलाई खतराको सूचीमा राख्नुपर्ने भएकाले उक्त क्षेत्रमा त्यसप्रकारको काम नगर्न युनेस्कोले चेतावनी दिएको हो।
अजैरबाइजानको बाकुमा आयोजित विश्व सम्पदा समितिको ४३औँ बैठकले चीन भारत ट्रेड लिंक, माडी वाल्मीकि आश्रम सडक र मलेखु ठोरी सडकले चितवन राष्ट्रिय निकुञ्चलाई खतरामा पार्ने जनाएको थियो।
बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्रबाट जाने गरी हुलाकी राजमार्ग तथा अन्य सडकलाई अनुमति नदिन नेपाल सरकारलाई आग्रह गरेको छ।
यदि नेपालले उक्त आग्रहलाई अटेरी गरेमा चितवन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने युनेस्कोले चेतावनी समेत दिएको छ।
उक्त बैठकमा काठमाडौँ उपत्यकाका सुरक्षित विश्व सम्पदा क्षेत्रहरूको स्थितिबका बारेमा छलफल गरिएको थियो।





