काठमाडौं – अघिल्लो वर्ष मौसमले हाम्रो कृषि प्रणालीलाई निकै साथ थियो। देशको आर्थिक वृद्धिदर झण्डै ७ प्रतिशत पुग्नुको मुख्य कारण पनि मौसम नै थियो।
यस पटक पनि कृषकको अपेक्षा थियो, बेलैमा पानी पर्ला र विशेषगरी रोपाई गर्न पाइएला। तर, यसपटक मनसुनले साथ नदिदा पाँच प्रतिशतले धान उत्पादन घट्ने प्रक्षेपण कृषि तथा पशुपंक्षी मन्त्रालयले गरिसकेको छ।

यही अवस्थाले केही दिन निरन्तरता पाउने हो भने यो प्रतिशत बढ्नसक्छ। असारको तेस्रो साता हुँदासम्म खासै पानी पर्न सकेको छैन्। बरु यस अगाडि रोपिएको धान नै सुख्खाले प्रभावित हुन थालेको छ। धान रोप्न जति ढिलो भयो, त्यति नै उत्पादन घट्ने विज्ञहरू बताउँछन्।
वुधबारसम्म १५ प्रतिशत भन्दा बढी रोपाई भएको छैन्, देशभरका कृषकहरू चिन्तित छन्। उनीहरू कहिले पानी पर्ला भनेर आकाशतिर हेरेर बसिरहेका छन्। कतिपयले भूमिगत स्रोतबाट पानी तानेर र कसैले खोलाबाट पानी तानेर रोपाई गरिरहेका छन्। मौसम मात्र होइन, यतिबेला मलले पनि धोका दियो। सरकारले कृषकहरूका लागि पर्याप्त मलको व्यवस्था गर्न सकेन।
मलकाे अभावले गर्दा समयमै धान राेप्न नपाइएकाे नुवाकाेटका कृषक शिवप्रसाद भट्टकाे भनाइ छ । धान रोप्न पर्याप्त मल नहुँदा कहिले रोप्ने भन्ने विषय अझैँ पनि टुंगो लगाउन नसकेको उनी बताउँछन्।
‘एक त पानी परेको छैन्, त्यसमाथि पनि गाईबस्तुको मल बाहेक अरु केही छैन्, उनले भने, बिउ नै सुक्ला भन्ने डर लागिसक्यो ।’ सरकारले मल आउँछ भनेर कृषकलाई आश मात्र देखाएको उनको गुनासो छ।
निष्कर्षमा पुग्नेबेला भएको छैनः मन्त्रालय
कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजवहादुर सुवेदीका अनुसार असार १५ सम्मको तथ्याङ्कअनुसार देशभर १४ लाख हेक्टर क्षेत्रफलमा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। असार पन्ध्रदेखि साउन पहिलो हप्तासम्म रोपाइँको सिजन भएकोले धान उत्पादनको बारेमा यसै भन्न सकिने अवस्था नरहेको उनले बताएका छन्।
सुवेदीका अनुसार तराईमा १२ प्रतिशत, पहाडमा २० प्रतिशत र उच्च पहाडी क्षेत्रमा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। “धान खेतीको मुख्य क्षेत्र तराई भएकोले उक्त क्षेत्रमा रोपाइको सिजन असार १५ देखि साउन पहिलो हप्ता सम्म रहन्छ,” उनले भने, “अझैपनि रोपाइँ गर्ने समय भएकोले धान उत्पादनमा पार्ने प्रभाव बारे निष्कर्षमा पुग्ने बेला भोएको छैन।”

पानी नपरेको कारण यसबर्ष धान उत्पादनमा केही प्रतिशत कमी आउने विज्ञहरूले बताएका छन्। तर, मन्त्रालयले भने रोपाइँको सिजन बाँकी रहँदै यसबारेमा केही भन्न नसकिने जानकारी दिएको हो।
समयमा नै मनसुन सक्रिय हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव भने किसान तथा कृषिमा पर्ने देखिन्छ। समयमा रोपाइँ नभए धान उत्पादनमा कमी आउँछ, जसले चामलको आयातमा वृद्धि हुने देखिन्छ। मनसुन कमजोर हुनुको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पनि देखिने खतरा बढेको छ।
गत वर्ष समयमा नै मनसुन सक्रिय भएकोले साउन अन्तिम लाग्दा देशभर रोपाइँ सकिएको थियो। समयसँगै धेरै प्रतिशत रोपाइँको कारण धान उत्पादनमा पनि विगतका वर्षहरूमा भन्दा अघिल्लो वर्ष वृद्धि आएको थियो।
तर, यसपालिको रोपाइँ भने मनसुन कमजोर हुनुको साथै मलको अभावमा समयमा हुन सकिरहेको छैन। समयमै मनसुन सक्रिय नहुँदा र कृषकले मल नपाउँदा, यसले रोपाइलाई प्रत्यक्ष असर पारिरहेको छ। जसले धान उत्पादनमा पनि प्रभाव पार्ने देखिएको छ।
अघिल्लो वर्षको तुलनामा धान उत्पादन घट्ने प्रक्षेपण
अघिल्लो वर्ष ६५ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष भने उत्पादनमा कमी आउने धान विज्ञ् भोलामान सिंह बस्नेत बताउँछन्। यस बर्ष मनसुन कमजोर हुँदा रोपाइँ समयमा हुन नसक्ने भएकोले धान उत्पादनमा कमी आउने निश्चित भएको उनले बताए।
“वर्षा र धानको सम्बन्घ घनिष्ठ हुने भएकाले मनसुनले रोपाइँ तथा धान उत्पादनमा पक्कैपनि प्रभाव पार्छ,” उनले भने, “पानी पर्ने हो भने धान उत्पादनलाई सघाउ पुर्याउँछ नत्र उत्पादनमा ह्रास ल्याउँछ।”
केही महिना अगाडि वर्षा नलाग्दै परेको पानीले एक किसिमको तहल्का नै मच्यायो। हावाहुरी र असिना सहितको पानीले कैयौँ मानिसको ज्यान समेत गयो। यसको साथसाथै कृषकको हिउँदे बाली पनि तहसनहस पार्यो।
त्यससँगै केही समयसम्म निरन्तर रुपमा परेको पानीले कृषकमा रोपाइँ सहज तरिकाले हुने आशा पलाएको थियो। असारको तेस्रो साता लागिसक्दापनि मनसुन सक्रिय नहुँदा भने कृषक मारमा परेका छन्। त्यसैमाथि सरकारले समयमै कृषकलाई मल वितरण गर्न नसक्दा पनि रोपाइँ गर्न समस्या भइरहेको छ।
मनसुन सक्रिय हुन अझै केही दिन
गत वर्ष नेपालमा औसत समय भन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको थियो। मनसुन भित्रिएसँगै सक्रिय भएकाले पनि गत वर्ष धान रोपाइँ गर्न सहज भएको थियो। तर, यस वर्ष अझै पनि मनसुन पूर्ण सक्रिय भएको छैन्। नेपालमा मनसुन प्रवेश भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन सक्रिय नहुँदा आकाशे पानीको भरमा धान रोपाइँ गर्नेहरू मर्कामा परेका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो। नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन/चार दिन लाग्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको हो। उक्त प्रणाली बिस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्नेछ । त्यसैले पनि तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।





