काठमाडौँ–अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
रिपोर्टस् क्लब नेपालमा आज मंगलबार आयोजित साक्षात्कारमा उनीहरूले विगतका दिनमा स्थायी सरकार निर्माण हुन नसकेको अवस्थामा मौलाउँदै आएको असारे विकासको प्रवृत्तिलाई अहिले निरन्तरता दिन आवश्यक नभएको बताएका हुन् ।
कार्यसम्पादनमा आधारित भएर बजेट विनियोजन हुनुपर्ने, आयोजना, कार्यक्रम तथा बजेट खर्चको अनुगमन निरन्तर हुनुपर्ने, असारमा १० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने प्रवृत्तिलाई अन्त्य गर्दै ११ महीनासम्म काम नहुने तर वर्षको अन्तिम महीनामा ४० देखि ५० प्रतिशत पूँजीगत खर्च हुने गरिएकामा यसलाई अन्त्य गरिनुपर्नेमा सभागी वक्ताको जोड थियो ।
पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले हालै सरकारले ल्याएको आर्थिक सर्वेक्षणले आर्थिक विकास गर्ने लक्षण नदेखाएको र यसमा धेरै कमजोरी रहेकाले आर्थिक विकासमा पुरानै प्रवृत्ति दोहोरिने बताए । उनले विगतका दिनमा देशमा स्थिर सरकार गठन नभएका कारण कार्यक्रम स्वीकृत हुन ढिलाइ हुने र कार्यक्रम समयमै शुरु नहुनेजस्ता समस्या देखिने गरेको बताउँदै हाल पाँच वर्षसम्म ढुक्कका साथ सरकार सञ्चालन हुने अवस्था रहेको बताए ।
मन्त्रालय, विभाग तथा स्थानीय तहजस्ता सम्बन्धित निकायलाई जिम्मेवार बनाउने तथा समयमै कार्यक्रम शुरु नगर्नेलाई कारवाही गर्न सरकारलाई पूर्वअर्थमन्त्री कोइरालाले सुझाव दिए ।





