संसदीय समितिको स्पष्टोक्ति : डिपिआर बनाएर मात्र निजगढको रुख काट्नु

काठमाडौँ – लामो समयदेखि चर्चामा आएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रूख काट्न अनुमति नदिएको संसदीय समितिले स्पष्ट पारेको छ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको गत शुक्रबारकोे बैठकले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समाचार प्रकाशित भएकाे थियाे।तर, समितिले विमानस्थलको मोडल र कसले बनाउने भन्ने विषय टुंगो नलागेसम्म कुनैपनि रूख काट्न अनुमति नदिएको समितिका सचिव सुदर्शन कुइँकेलले हाकाहाकीसँग बताए।

‘शुक्रबारको बैठकले तत्कालै निजगढमा रूख कटानका लागि अनुमति दिएको होइन,’ सचिव कुइँकेलले भने, ‘पहिला विमानस्थल कुन मोडलमा बनाउने हो, कसरी बनाउने हो , अनि कसरी बनाउने भन्ने विषयमा प्रष्ट हुनुपर्यो, मोडल तयार पारेर वातावरणीय प्रभाव अध्ययन पश्चात डिपिआर तयार भएपछि मात्र रूख काट्नु भनिएको हो।’

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आवश्यक पर्ने बाहेकका अन्य रूख नकाट्न समेत समितिले निर्देशन दिएको समितिका सचिव कुइँकेल बताउँछन्।

निजगढमा विमानस्थल बनाउने हल्ला सन् १९९५ देखि नै शुरु भएपनि अहिलेसम्म कुन मोडलमा कसले कसरी बनाउने भन्ने प्रष्ट नभएकाले शुक्रबारको बैठकमा उक्त विषयमा छलफल भएको थापाको भनाई छ।

उनका अनुसार मोडल तयार पारी डिपीआर हेरेर विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार