काठमाडौँ – साझा यातायाताले आज(सोमबार)देखि थप २० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ। यो सँगै अब साझाले ७१ वटा बससहित काठमाडौँका विभिन्न रुटमा सेवा दिने भएको छ । काठमाडौँ महानगर र ललितपुर महानगरपालिकाको सहयोगमा साझाले उक्त बस नेपाल भित्र्याएको हो।
साझाले थपेको २० वटा नयाँ बस खरिद गर्न काठमाडौँ महानगरले ५ करोड तथा ललितपुर महानगरले एक करोड सहयोग गरेका थिए। साझाले २० वटा बस थपिएसँगै नयाँ रुटमा पनि सेवा विस्तार गर्ने भएको छ। बस थपिएसँगै थानकोट, दक्षिणकाली, कमलविनायक र बुङ्गमति लगायतको नयाँ रुटमा सेवा विस्तार गर्ने साझाको तयारी छ।
अन्तर्राष्ट्रिय युरो ४ मापदण्डका अनुरुपका उक्त बस अपांगमैत्री र ४० सिटे भएको साझाको भनाई छ। यो सँगै साझाले अब काठमाडौँमा १० वटा रुटमा आफ्नो सेवा सञ्चालन गर्नेछ।





