महानगर र सिसडोलबासीबीच टालटुले सहमति, तीन महिनाभित्र कार्यान्वयन नभए फेरि आन्दोलन

काठमाडौँ – विगत केहीदिनयता काठमाडौँमा थुप्रिएको फोहोर व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच आइतबार सहमति भएको छ।

उनीहरूबीच सिसडोलबासीको माग, फोहोर फाल्ने स्थानको व्यवस्थापन तथा निजी जग्गामा फोहोर फालिएको सन्दर्भमा विस्तृत प्रतिवेदन बनाउन १३ सदस्यीय समिति गठन गर्ने सहमति भएको हो।

सिसडोलबासीसँग भएको उक्त छलफल पश्चात गठन भएको समितिले प्रतिवेदन निकालेर फोहोर व्यवस्थापनको लागि अगाडि बढ्ने काठमाडौँ महानगर प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

‘प्रभावित क्षेत्रमा परेको ४२ रोपनी जग्गाको क्षतिपूर्ति सरकार तथा महानगरले बेहोर्नुपर्ने उनीहरूको माग छ,’ उनले भने। सिसडोलबासीको माग पुरा गर्न सरकारसँग सहमति गर्नुपर्ने डंगोल बताउँछन्। डंगोलका अनुसार उपत्यकाको फोहोर सोमबारदेखि उठाउन सुरु गरिएको छ।

छलफलमा सहभागी ककनी गाउँपालिका–२का वडाध्यक्ष केदार पौडेलका अनुसार महानगर र सिसडोलबासीबीच सहमतिभएसँगै सिसडोलमा फोहोर फाल्ने अनुमति दिइएको छ। उनका अनुसार समितिले समस्याको समाधान गर्ने प्रतिवद्धता जाहेर गरेसँगै फोहोर फाल्ने अनुमति दिएको हो।

सिसडोलबासीको व्यक्तिगत जग्गा नै फोहोर भएर अतिक्रमण भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। ‘गठन गरिएको उक्त समितिले १५ दिन भित्रै सिसडोल बासीको जग्गा अतिक्रमणको लागि प्रतिवेदन तयार पार्ने सहमति भएको छ,’ उनले भने, ‘उक्त प्रतिवेदन तीन महिना भित्र कार्यान्वयनमा आउनुपर्ने छ ।’ तोकिएको समयावधिमा महानगरबाट काम सम्पन्न नभए सिसडोलबासी फेरि आन्दोलनमा उत्रने उनको भनाइ छ।

विगतका केही वर्षदेखि नै सिसडोल डम्पिङ साइट अस्तव्यस्त भएपछि त्यहाँका बासिन्दाहरू आन्दोलनमा उत्रिएका हुन्। फोहोरले व्यक्तिगत जग्गा मासेकोले सो जग्गामा मुआब्जा सहित अतिक्रमण गरिपाउँ भनी स्थानीयले आवाज उठाएका छन्।

फोहोरको दुर्गन्धले बाँच्नै कठिन भइरहेको बेला सरकारले उचित ढङ्गबाट दीर्घकालिन रुपमा समस्याको समाधान गर्नुपर्ने सिसडोलबासीहरूको माग छ।

विगत केही वर्षयता सिसडोलमा फोहोर फाल्ने ठाउँ नै नभएको र त्यसको विकल्प खोज्नुपर्ने आवाज उठेपनि महानगरले सोही स्थानमा फोहोर विसर्जन गर्दै आएको छ।

गत बर्खामा हिलो र लिचडका कारण फोहोर बोक्ने गाडी बीच बाटोमै अलपत्र परेको थियो। एक सातासम्म पनि फोहोरका गाडी बीचैमा रोकिएपछि सरकारले सडक बनाउने तथा सिसडोलको विकल्पको रुपमा रहेको बञ्चरे डाडाँमा फोहोर व्यवस्थापनको व्यवस्था मिलाउने बताएको थियो । तर, एक वर्ष बितिसक्दा पनि बञ्चरे डाडाँमा थप केही काम हुन सकेको छैन्।

याे पनि पढ्नुहाेस
अस्तव्यस्त सिसडोल ल्याण्डफिल साइट (फोटो / भिडियो) 
बञ्चरेडाँडाका स्थानीयको आग्रह : ‘सकेसम्म यहाँ फोहोर नफालिदिए हुन्थ्यो’ (भिडियो/फाेटाे रिपोर्ट) 
सिसडाेल जाने सडककाे दूरावस्था, फोहोर बोकेका गाडी बाटाेमै अलपत्र (भिडियो/फाेटाे रिपोर्ट)

ताजा समाचार

सम्बन्धित समाचार