तराईका ६ जिल्लामा १ करोड विरूवा रोप्दै सीके राउत

काठमाडौँ– ‘घर–घर जाये, पौधे लगायें, पर्यावरण बचायें’ भन्ने नाराका साथ सीके राउतको जनमत पार्टीले आइतबारदेखि वृक्षरोपण अभियान शुरु गरेको छ।

राष्ट्रिय धान दिवसको अवसर पारेर जनमत पार्टीले सो अभियानको शुरुवात गरेको हो। हाकाहाकीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अब्दुल खानले सिरहा, सप्तरी, झापा, नवलपरासी, नेपालगञ्च, बाँकेका हरेक घरमा वृक्षरोपण गरिने बताए।

यस अभियानलाई सफल पार्नको लागि सबै जिल्लाका कार्यकर्ता र सदस्यलाई निर्देशन दिएको खानले जानकारी दिए। निजी घर र जग्गामा फलफूल, जडीबुटी, काष्ठ, गैरकाष्ठगरी सबै प्रकारका विरूवा रोप्ने कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने उनको भनाई छ।

‘सरकारले हरेक वर्ष मधेशमा रूखहरू लाखौं संख्यामा काट्ने गरेको छ, उनले भने, ‘विनाशमा अग्रसर भएको सरकारले विकासमा ध्यान नदिएकाले हामी आफ्नै पहलमा यो कार्य शुरू गरेका हौं।’

सरकारले गरेको लापरवाहीका कारण नै मधेशले बाढी, पहिरो, अनावृष्टी, अल्पवृष्टी लागायतका प्रकृतिक विपत्तिको सामना गर्नुपरेको उनले दाबी गरे।

विनाशका कारण मधेस पर्यावरणीय संकट बढेको भन्दै उनले भने, ‘सुरुवाती भएर हामीले निजी क्षेत्रलाई र मधेशमा जोड गरेका छौं पछि हामी यो अभियानलाई देशव्यापी रूपमा अगाडि बढाउँछौं।’

निजी घर र जग्गालाई बढी जोड गर्नुको कारण संरक्षण रहेको उनले बताए। सरकारी क्षेत्रमा वृक्षरोपण गर्दा रेखदेखको समस्या हुने र अभियानको कुनै नतिजा नआउने उनले प्रष्ट पारे।

‘१ करोड विरूवा रोप्ने हाम्रो अभियान हो। जनशक्ति हामी आफ्नै परिचालन गर्छौ। सरकारी क्षेत्रमा वृक्षारोपण गरेर त्यसको संरक्षण हुँदैन। बरु घरमा नै बिरूवा रोपिदियो भने निजी व्यक्तिले त्यसको संरक्षण गर्छ, त्यसको महत्त्व बुझ्छ अनि त हाम्रो अभियान सफल हुन्छ,’ उनले भने।

वृक्षरोपण मात्र पार्टीको अभियान नभएर पर्यावरणको महत्त्व बुझाउने समेत रहेको उनले जनाए। पहिल्यैदेखि वृक्षरोपण शुरु गर्ने योजना बनाए पनि विरुवा अभावका कारण अभियान चलाउने नसकेको उनी बताउँछन्। स्थानीय सरकारसँगको सहकार्य नरहेपनि वन कार्यलय र समुदायीक वन सँग विरूवाको लागि पार्टीको सहकार्य भएको जानकारी दिए।

जनमत पार्टीको वृक्षरोपण अभियानमा सबैलाई हातेमालो गर्न पनि उनले आह्वान गरे। उनले भने, ‘यो अभियान सरकारलाई चुनौती होइन सहयोग हो त्यसैले सबैजनाको साथको अपेक्षा छ।’ १५ असारबाट शुरू भएको अभियान भदौ मसान्तदेखि असोजको पहिलो हप्ता सम्म चल्ने प्रवक्ता खानको भनाई छ।

ताजा समाचार

सम्बन्धित समाचार