पाँचथर– पाँच वर्षअघि पाँचथर जिल्लामै सुधारिएको चुलो बढी बनाएर पुरस्कार जितेका चुलो प्रवद्र्धक तुम्बेवा ४ का लोकबहादुर सम्बाहाम्फे हिजोआज निकै फुर्सदिला छन्।
संघीय संरचनाको आधारमा स्थानीय सरकारको गठन भएपछि पाँचथर जिल्लामा सुधारिएको चुलो अभियानको गति प्राय ठप्प देखिएको छ । मानिसको स्वास्थ्य, वातावरण संरक्षण, गृहिणीको समय बचत र आर्थिक बचतसँग प्रत्यक्ष गाँसिएको सुधारिएको चुलो निमार्ण कार्यमा स्थानीय सरकारले चासो नदिँदा वातावरणका क्षेत्रमा कार्यरत सरोकारवालाहरू चिन्तित देखिएका छन्।

बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ सन २०१७ भित्रमा नेपालका सबै घरधुरीलाई धुवाँमुक्त बनाउने कार्यक्रम घोषणामै सीमित भएको अभियान्ताहरू बताउँछन् । स्थानीय सरकार गठन भएपछि सुधारिएको चुलो निमार्ण अभियान कार्यक्रम ओझेलमा परेको हो।
जिल्लाका आठ स्थानीय तहमध्ये मिक्लाजुङ गाउँपालिकामा मात्र सुधारिएको चुलोले निरन्तरता पाएको छ । गाउँपालिकामा राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको सशर्त अनुदानमा गाउँपालिकास्तरीय तालिम सञ्चालन गरी चुलो प्रवद्र्धकहरू उत्पादन गर्ने काम भइरहेको मिक्लाजुङ गाउँपाकिाका प्रमुख प्रशासकीय अधिकृत अरुण राई बताउँछन्।
‘गत पुसमा गाउँपालिकाले चुलो बनाउने तालिम दियो। तालिमपश्चात अहिले धमाधम चुलो बनाउने काम भइरहेको छ,’ मिक्लाजुङ ६ का चुलो प्रर्वद्धक धनकुमार राईले बताए। एउटा चुलो बनाए वापत वडा कार्यालयले १ हजार रुपैयाँ दिन्छ। तालिम पछि १५/१६ वटा चुलो आफूले बनाएको राई भन्छन्।
पाँचथर जिल्लामा २०६१/०६२ देखि सुरु भएको सुधारिएको चुलो निर्माण अभियान २०७३ सम्म आइपुग्दा १६ हजार ५ सय २ वटा चुलो निमार्ण भएका थिए । त्यस बेला सबै घरधुरीलाई घरभित्रको धुवाँ मुक्त बनाइ जिल्लालाई नै धुवाँ मुक्त घोषणा गर्ने कार्यक्रम अभियानको रूपमा चलेको थियो। तर, स्थानीय तहको विभाजनपछि भने सुधारिएको चुलो निमार्ण कार्यक्रम नै ठप्प छ।
जिल्लाका ४० गाउँ विकास समिति र एक नगरपालिकामध्ये इम्बुङ, नवमीडाँडा, सिदिन, थर्पु, फाक्तेप, ओलने, रवि र लुम्फाबुङ गाविसलाई घर भित्रको धुवाँमुक्त गाविसको रूपमा घोषणासमेत गरिएको थियो। नेपाल सरकारको नीति तथा कार्यक्रमअनुरूप सन् २०१७ सम्ममा घर भित्रको धुवाँ मुक्त देश बनाउने कार्यक्रमअन्र्तगत पाँचथरमा पनि सुधारिएको चुलो कार्यक्रम निकै प्रभावकारी रूपले सञ्चालन भइ रहेको थियो।
तर, देश संघीय ढाँचामा गएर स्थानीय सरकार र जनप्रतिनिधि निर्वाचित भएपछि भने सुधारिएको चुलो निमार्ण कार्यक्रम ठप्पजस्तै भएको सुधारिएको चुलोका पूर्व सामाजिक परिचालक भाष्कर रिजाल बताउछन्। यो कार्यक्रम सबैका लागि आवश्यक रहे पनि स्थानीय तहमा कर्मचारी अभाव र सो विषय सम्बन्धी ज्ञान कर्मचारीमा नभएका कारण सुधारिएको चुलो सम्बन्धी कुनै कार्यक्रम नगरपालिकाभित्र नपरेको फिदिम नगरपालिका वातावरण तथा विपत व्यवस्थापन शाखाका प्रमुख दुर्गा दाहाल बताउँछन्।
केही वर्षअघि पाँचथर जिल्लाका सबै गाविसमा सुधारिएको चुलो निमार्णको काम सञ्चालन भइरहेको थियो। तर, स्थानीय तहको संरचना भएपछि अहिले ठप्प छ। यो कार्यक्रम सबैका लागि प्रभावकारी थियो। सुधारिएको चुलोले गृहिणीहरूको स्वास्थ्य, वातावरण संरक्षण, समय र आर्थिक बचतमा प्रत्यक्ष सहयोग पुग्ने हुनाले यो कार्यक्रम सबैका लागि आवश्यक रहेकोमा कार्यक्रम अहिले ठप्प भएको वैकल्पिक ऊर्जा विकास केन्द्र नेपाल पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी बताए।
२०७२/०७३ सालमा उक्त संस्थाले जिल्लाका दुई दर्जनभन्दा बढी गाविसमा सुधारिएको चुलो जडान कार्यक्रम सञ्चालन गरेको थियो। संस्थाको आयोजनामा ६ वटा गाविसलाई घरभित्रको धुवाँ मुक्त गाविससमेत घोषणा गरिएको थियो। तर अहिले यो कार्यक्रमलाई स्थानीय सरकारले ध्यान नदिएको अध्यक्ष सुवेदी बताउँछन्।
‘सुधारिएको चुलो जडान कार्यक्रम प्रभावकारी हुँदाहुँदै पनि अहिले सुस्ताएको छ। खास गरी नेपाल सरकारको नीति तथा कार्यक्रममा सशर्त कार्यक्रमको रूपमा उल्लेख भए पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई यो विषयमा ज्ञान नहुँदा कार्यक्रम सञ्चालन हुन सकेको छैन्,’ सुधारिएको चुलो कार्यक्रम २०७२ का संयोजक रहेका इन्द्र गुरुङ भन्छन्, ‘सुधारिएको चुलोले हाम्रो परिवारको स्वास्थ्य समय र आर्थिक बचत गर्छ परम्परागत चुलोभन्दा सुधारिएको चुलोमा दाउरा खपतमा ३० प्रतिशत बचत हुने अध्ययनले देखाएको छ। यसले हाम्रो वन जङ्गल फडानी कम गर्नमा ठूलो सघाउ पु¥याउँछ। सुधारिएको चुलो घरको इज्जतसँग पनि गाँसिएको हुन्छ। यसले हाम्रो जीवनमा धेरै फाइदा पुर्याएको छ।’
‘जतिबेला सुधारिएको चुलो जडान कार्यक्रम प्रभावकारी रूपले अघि बढेको थियो, त्यतिबेला जिल्लामा हामी दुई दर्जन चुलो प्रवद्र्धकहरू सक्रिय थियौँ । वर्षमा एक लाख ८० हजारभन्दा बढी कमाइ हुन्थ्यो तर अहिले सबै साथीहरू बेरोजगार भएर वैकल्पिक पेसा रोज्न बाध्य भएका छौँ,’ तुम्बेवा गाउँपालिका वडा न ४ का लोकबहादुर सम्बाहाम्फेले भने। लोकबहादुर मात्र होइन फाल्गुनन्द गाउँपालिका वडा न ४ दिलकुमार नेम्बाङ, मिक्लाजुङ ४ की मिनाकुमारी भुजेलसमेत चुलो बनाउने पेसा छोडेर अरू नै पेसामा लागेका छन् । कमाइ त राम्रै थियो तर, अहिले चुलाको कार्यक्रम खासै छैन, त्यसैले अरू पेसा अँगाल्न बाध्य भइयो तुम्बेवा २ का सुधारिएको चुलो प्रवद्र्धक कमल माङ्लाक भन्छन्।
‘केही वर्ष अघिसम्म निकै गतिशील भएर चलेको सुधारिएको चुलो जडान कार्यक्रम प्रभावकारी हुदाँहुँदै पनि स्थानीय तह विभाजनपछि भने प्राथमिकतामा परेको छैन । यसलाई हाम्रो साझा कार्यक्रम बनाएर अघि बढाउनु पर्छ। यसका लागि हामी स्थानीय तहका साथीहरूलाई अनुरोध गछौँ ।’ जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा बताउँछन्।





