काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
गोरखापत्र
-आजको गोरखापत्रमा उपत्यकाको फोहोर आजबाट उठ्ने भन्ने शिर्षकमा समाचार छापिएको छ। फोहोर विसर्जन गर्ने स्थान ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले फोहोर फाल्न नदिएपछि प्रदूषित बनेको राजधानी सहर सोमबारदेखि सफा हुने भएको छ । आइतबार स्थानीय बासिन्दा र महानगरका पदाधिकारीबीच भएको वार्तामा १५ दिनभित्र समस्या समाधान गर्ने सहमति भएपछि सोमबारदेखि फोहोर उठाउने र फाल्ने काम सहज हुने भएको हो । फोहोरका कारण विगत केही दिनयता राजधानी निकै प्रदूषित बन्यो । असार १० गतेयता घरघरबाट फोहोर नउठ्ने र सडकमा थुप्रिएको फोहोर पनि उठ्न छाडेको थियो।
-पेट्रोलियम अन्वेषण अन्तक्र्रिया हुँदै भन्ने शिर्षकमा समाचार छापिएको छ। दैलेखमा सयौँ वर्षदेखि निरन्तर बगिरहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन तयारीका लागि सङ्घीय सरकारका उद्योगमन्त्री मातृका यादव स्थलगत अध्ययनका लागि पादुका मन्दिर पुगेका छन्। उद्योगमन्त्रीसहित खानी तथा भूगर्भ विभागका महानिर्देशक प्रतिनिधि सभाका सदस्य राजबहादुर बुढा, पार्वती बिसुन्के कर्णाली प्रदेश सभाका सदस्य सुशील थापा, अमरबहादुर थापासहितको टोलीले पादुकामा बगेको पेट्रोलियम पदार्थको स्थलगत अवलोकन गरेको छ।
नागरिक
-आजको नागरिकमा विकासका नाममा जंगल मासिने क्रम बढ्यो भन्ने शिर्षकमा निर्मल घिमिरेको समाचार छापिएको छ। जताततै स्थानीय सरकारप्रमुखको विकास गर्ने होडबाजीले पालिका–पालिका, वडा–वडाबीच कसले कति विकास गर्नसक्ने भन्ने तीव्र प्रतिस्पर्धा देखिएको छ । तर भौतिक पूर्वाधार निर्माणमा सरकारप्रमुखको यस्तो अस्वस्थ प्रतिस्पर्धाले वनक्षेत्र वा जंगल मासिने क्रम भने बढेको पाइएको छ।
-चामल आयात वार्षिक २५ अर्बको भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। सरकारले एक दशकदेखि हरेक वर्ष असार १५ मा तामझामसाथ राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। मुलुकको प्रमुख खाद्यान्न बाली भए पनि धान खेतीमा किसानलाई आकर्षित गर्न नसक्दा अपेक्षित रुपमा उत्पादन बढन सकेको छैन। यसको प्रत्यक्ष असर मुलुकको डरलाग्दो आयातमा देखिएको छ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा देशभर १४ प्रतिशत रोपाइँ भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ। देशभर १४। २५ रोपाइँ सम्पन्न भएको छ। प्रमुख खाद्यान्न बाली धानका लागि पानी अभाव हुँदा यस वर्ष रोपाइँ न्यून भएको हो। यस वर्ष पहाड र तराई दुवै स्थानमा मौसमले साथ दिएको छैन। पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा भएका स्थानमा समेत खेत बाँझै छ।
राजधानी
-आजको राजधानीमा देशभर धान दिवस भन्ने शिर्षकमा समाचार छापिएको छ। आइतबार विभिन्न कार्यक्रमका साथ देशभर १६औं राष्ट्रिय धान दिवस मनाइएको छ । ‘धान खेतिमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ मूल नाराका साथ विभिन्न धान दिवस मनाइएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बर्दियाको राजापुरमा ट्याक्टर जोतेर र धान दिवस मनाएका थिए ।





