कैलाली– असार १५ लाग्दा समेत सुदूरपश्चिममा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
कृषि विकास निर्देशनालय दीपायलका अनुसार असार १५ सम्म ५० देखि ५५ प्रतिशत धान रोपाइँ भैसक्नुपर्ने थियो। तर, तराईका अधिकांश क्षेत्रमा सिँचाई सुविधा नभएको र आकाशे पानीको भर पर्नुपर्ने भएका कारण ३० प्रतिशत मात्र रोपाइँ भएको हो।
निर्देशनालयका निर्देशक गोपाल लामिछानेले सुदूरपश्चिमका पहाडी जिल्लामा बढी रोपाइँ भए पनि तराइका जिल्लामा सिँचाइको अभावमा कम भएको बताए।
‘समयमा पानी परेको भए हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न हुन्थ्यो तर, आकाशे पानीको भर पर्दा रोपाइँ हुन सकेन,’ उनले भने।
उनका अनुसार सुदूरपश्चिममा ४५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाई सुविधा छ। त्यस्तै गत वर्ष असार दोस्रो सातासम्म सुदूरपश्चिममा ३८ प्रतिशतमा धान रोपाइँ भइसकेको थियो।
सुदूरपश्चिममा एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ।





