काठमाडौँ– आज असार १५ अर्थात् धान दिवस। धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ आज (आइतबार) १६ औँ राष्ट्रिय धान दिवस राजधानी लगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदै छ।
आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन पनि रहि आएको छ। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।
विसं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए। राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्धेश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो।
यस वर्ष धान दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका ८, बर्दियामा आयोजना हुँदैछ। कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल, कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतका मन्त्री बर्दिया पुगेका छन्।





