काठमाडौँ – वीरगञ्जको छपकैयामा निर्माण भएको प्रदेश नं– २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र शनिबारदेखि सञ्चालनमा आएको छ । साढे नौ बिघा क्षेत्रफलमा रु १२ करोड भन्दा बढीको लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको सफल परीक्षण वीरगञ्ज महानगरपालिकाले सम्पन्न गरेको हो।
नगरमा रहेका चार हजार भन्दा बढी घरबाट निस्किने फोहर पानीलाई केन्द्रमा प्रशोधन गरी ९९ प्रतिशत सफा बनाइ सिर्सिया खोलामा मिसाउने योजना रहेको परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले जानकारी दिए। उनले नगरक्षेत्रमा निर्माण गरिएका मुख्य नालाबाट सङ्कलित एक करोड लिटर फोहर पानीलाई दैनिक प्रशोधन गर्नसकिने केन्द्रको क्षमता रहेको बताए।
सञ्चालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौँको मल उत्पादन हुने महानगरपालिकाले जनाएको छ। एशियाली विकास बैंक तथा नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको आठ प्रतिशत लागनीमा प्रशोधन केन्द्र निर्माण भएको छ।
नगरक्षेत्रबाट निस्किएको फोहर पानीबाट सिर्सिया खोला हुँदै आएको प्रदूषण केन्द्र सञ्चालनमा आएपछि नियन्त्रण हुनुको साथै यसले पर्यावरण संरक्षणमा ठूलो टेवा पु¥याउने महानगर प्रमुख विजयकुमार सरावगीले बताए। उनले केन्द्रबाट प्रशोधित भई निस्किने पानीलाई कृषि प्रयोजनका लागि उपयोग गर्ने सकिने भएकाले त्यस तर्फ अध्ययन अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
केन्द्रको सफल परीक्षण सम्पन्न भएपछि अब केही दिनभित्र यसको उद्घाटन गरिने महानरपालिकाले जनाएको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि फोहर पानीको व्यवस्थान भए पनि नगरक्षेत्रबाट दैनिक सङ्कलन हुने पाँच÷छ टन फोहरको उचित व्यवस्थापन अहिलेपनि महानगपालिकाको समस्याको विषय बनेको छ ।





