Saturday, September 28, 2024

युरोपमा तापक्रम ४० डिग्री भन्दामाथि, नेपालले के पाठ सिक्न सक्छ ?

 

काठमाडौँ । युरोपका विभिन्न मुलुकमा केही दिन यता तापक्रममा अस्वभाविक वृद्धि भएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा आगलागीसमेत भएको छ ।
विशेषत जर्मनी, पोल्यान्ड, फ्रान्स, स्पेन, इटली र स्वीटजरल्यान्ड लगायतका देशमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । उत्तर अफ्रिकी राष्ट्रहरूबाट आएको तातो हावाका कारण गर्मी बढेको मौसमविद्ले दावी गरेका छन् । आगामी केही दिन तापक्रम अझ बढ्न सक्ने उनीहरूको अनुमान छ ।

बिहीबार मध्यान्हमा इटलीको टुरिन सहरमा तापक्रम ३९ डिग्री पुगेको थियो भने स्पेनमा ४१ डिग्री र दक्षिण फ्रान्सका सहरमा ४१ डिग्री पुगेको थियो । तातो हावाका कारण स्पेनको क्याटालोनिया क्षेत्रमा ठूलो आगलागी भएको छ र त्यसलाई नियन्त्रण गर्न सयौँ अग्नि नियन्त्रकको प्रयोग भइरहेको छ । सरकारी अधिकारीहरूले सो आगलागी २० वर्ष यताकै खराब भएको र यो अझ तिव्र रूपमा फैलने खत्तरा भएको बताएका छन् ।

आगलागीबाट ४ हजार हेक्टर जमिन प्रभावित भएको  सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागीका कारण त्यहाँका ५ वटा राजमार्ग बन्द गरिएको छ भने दर्जनौँ मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । उता फ्रान्सको पेरिसमा तातो हावा चलेपछि त्यहाँका विद्यालयहरू केही समयका लागि बन्द गरिएका छन् ।

विभिन्न मुलुकले दिउँसोको समयमा सकेसम्म वाहिर ननिस्कन र पर्याप्त पानी पिउन आफ्ना नागरिकलाई आग्रह गरेका छन् । विशेषगरी केटाकेटी र वृद्धहरु यसबाट वढी प्रभावित हुने बताइएको छ । तर यसरी तापक्रम बढेको पहिलोपटक भने होइन् सन् २००३ मा युरोपमा आएको तातो हावाका कारण दर्जनौ व्यक्तिहरुको मृत्यु समेत भएको थियो ।

पछिल्लो समयमा के कारणले यसरी तापक्रम बढीरहेको छ ? विज्ञहरू भन्छन– ‘जलवायु परिवर्तनलाई मुख्य कारक मानिए पनि एउटै कारणले मात्र यसरी तापक्रम बढीरहेको छैन् ।’ यस्ता घट्नाक्रम प्रकृतिमा भइरहन्छन् तर यो बारम्वार भइरहनु चाहिँ जलवायु परिवर्तनको असरको कारणले नै हो । विभिन्न मौसमसँग सम्बन्धित संस्थाहरूले सन् १५०० यताको अहिलेको पाँचौ तातो सिजन भनेका छन् ।

विशेषत परम्परागत ऊर्जाको अत्याधिक प्रयोगले विश्वको तापमानमा वृद्धि भइरहेको विभिन्न अध्ययनले देखाएका छन् । गर्मी बढेसँगै मानिसहरू नदी र समुद्री किनारमा पुगिरहेका छन् । विभिन्न देशमा सार्वजनिक स्थानमा वाटर फाउन्टेन बनाइएको छ । युरोपमा मात्र होइन, हाम्रो छिमेकी मुलुक भारत र चीन र अन्य दक्षिण एसियाली मुलुकहरूमा समेत पछिल्ला वर्षहरूमा तापक्रम निकै वृद्धि भइरहेको छ ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा निरन्तर रूपमा तापक्रम वृद्धि भइरहेको छ । यही सिजनमा नै काठमाडौँ उपत्याकाको तापक्रम ३३ डिग्री पुगेको थियो । विश्वको तापमान वृद्धिलाई १ं.५ नै सीमित गर्ने विश्वव्यापि प्रयासमा नेपालले पनि जोड दिइरहेको छ । यदि नेपालमा पनि तापक्रम वृद्धि हुँदै जाने हो भने त्यसको सबैभन्दा पहिलो र गम्भीर असर नेपालका हिमालमा पर्नेछ । यस अगाडि नै विभिन्न अध्ययनले हिमनदी पग्लनेक्रम तिव्र भएको देखाएका छन् ।

यसको प्रत्यक्ष असर नेपालका खोला नालामा पर्नेछ । त्यसैले विश्वमा बढेको तापमानबाट पाठ सिकेर नेपालले पनि त्यसको असर न्यूनीकरणका उपायहरू खोज्न अब ढिलाई गर्नुहुन्न । त्यसका लागि हामीले ऊर्जाका परम्परागत स्रोतलाई क्रमशः बन्द गरेर वातावरणमैत्री स्रोतहरूको प्रयोगलाई तत्काल अगाडि वढाउनुपर्छ । त्यसैले यति बेलाको हाम्रो दायित्व भनेको विश्वका विभिन्न भागमा देखापरेका यस्ता अस्वभाविक मौसम परिवर्तनलाई अध्ययन गरेर त्यसको न्यूनीकरणका उपायहरूबारे सोच्ने नै हो ।

ताजा समाचार

सम्बन्धित समाचार