Saturday, September 28, 2024

उद्देश्य के लिनु विरुवा रोपी हुर्काउनु

काठमाडौँ । सरकारले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रूपमा मनाउने थालेको छ । यस दिन संघिय सरकारका प्रधानमन्त्रीदेखि प्रदेश र स्थानीय सरकारका प्रमुखहरूले निकै तामझामका साथ विरुवा रोप्ने छन् ।

विहिबार सार्वजनिक गरिएको मन्त्रीपरिषदको निर्णयमा भनिएको छ, ‘राष्ट्रियस्तरमा ‘वृक्षारोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ । २०१८ जुन ५ देखि ‘एक नागरिक एक फलफूल विरूवा रोपण अभियान’ शुभारम्भ भएकाले सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूल लगायतका विरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरिएको छ ।’

साथै लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफुल तथा औषधीजन्य (हर्बल) विरूवा रोपण गर्ने निर्णय समेत मन्त्रीपरिषदले गरेको छ । सरकारी तहमा मात्र होइन, सत्तारूढ राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आफ्ना कार्यकर्तालाई सो कार्यक्रममा सहभागी हुन र निजी घरमा पनि कम्तीमा २ वटा विरुवा रोप्न निर्देशन दिएको छ । अर्काे सकारात्मक विषय के छ भने सत्तारूढ दलले रोपेका विरुवाहरूको हेरचाह गर्न समेत आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

यो निर्देशन निकै महत्वपूर्ण छ किनकि विरुवा रोप्ने तर हेरचाह गरेर हुर्काउने मामिलामा भने हामी निकै पछाडि छौँ । विरुवा रोप्ने यो कुनै नयाँ कार्यक्रम होइन, बिगतमा पनि विभिन्न तहमा लाखौँ विरुवा रोपिएका हुन् तर स्याहार नभएर त्यसै मरेर गए । प्रमुख विपक्षी नेपाली काँङग्रेस र अन्य राजनीतिक दलहरुले समेत यो अभियानलाई सक्रिय साथ दिन आवश्यक छ किनकी बढ्दो वातावरणिय चुनौती हामी सबैको साझा समस्या हो र सबैले सहकार्य गर्न आवश्यक छ ।
तर विषयलाई अलिक फरक दृष्ट्रिकोणले हेर्न आवश्यक छ ।

हामीले बिगत १० वर्षमा कति विरुवा रोप्यौँ, तीमध्ये कति हुर्किए र त्यसका लागि कति खर्च भयो भन्ने सम्बन्धमा सरकारसँग कुनै पनि तथ्याङक छैन । प्रत्येक घरमा रुख रोप्ने कार्य आफैँमा सकारात्मक हो तर हामीले विभिन्न परियोजनाका नाममा काटिएका लाखौँ रुखको सट्टामा विरुवा रोप्ने कार्यलाई अगाडि बढाएका छैनौँ । घर–घरमा रुख रोप्न प्रोत्साहन गर्नु सकारात्मक हो तर त्यो भन्दा महत्वपूर्ण विषय भनेको हामीले विभिन्न परियोजनाको नाममा लाखौ रुखहरु काटिरहेका छौ तर त्यसको क्षतिपूर्ति स्वरुप रुख रोपिरहेका छैनौं ।

उदाहरणका लागि उजाड बनेको चक्रपथमा पनि विरुवा रोप्ने विषय आएको छ जुन आफैँमा सकारात्मक हो तर चक्रपथ निर्माणको क्रममा कतिवटा साना ठूला रुख काटिएका थिए र त्यसको बदलामा कतिवटा विरुवा रोप्नुपर्ने हो भन्ने सम्बन्धमा कुनै आधिकारिक जानकारी छैन । सरोकारवाल पक्षको तिव्र दवावपछि मात्र केही रुख रोप्ने तयारी भएको छ तर वातावरण प्रभाव मुल्याङकनको आधारमा रोप्नुपर्ने रुखहरु अहिलेसम्म किन रोपिएन ?

यस विषयमा हाकाहाकीले चक्रपथ सुधार परियोजा र वन मन्त्रालयसँग तथ्याङ माग्दा विवरण खोज्न केही समय लाग्ने बताए । त्यसैगरी हामीले द्रुतमार्ग निर्माण गर्दा काटिएका रुखहरुको क्षतिपूर्ती वापत रोप्नुपर्ने विरुवा रोपेका छैनौ अनि पेट्र«ोलियम पाइपलाइनको सन्दर्भमा पनि त्यही भएको छ । त्यसैगरी अन्य परियोजना निर्माणका क्रममा कति रुख काटिए र त्यसको सट्टामा कति रोप्नुपर्ने हो भन्ने विषयमा प्रष्ट जानकारी छैन । खाली औपचारिक रूपमा कार्यक्रम गरेर अव्यवस्थित रूपमा जहाँ पायो त्यहीँ विरुवा रोप्ने, पछि बाटो र अन्य पूर्वाधार निर्माण गर्दा उखेलेर फाल्ने काम भइरहेको छ ।
यति मात्र होइन, पहिला करोडौँ रुपयाँ खर्च गरेर रोपिएका रुख सङ्ख्या र त्यसको प्रगतिको बारेमा सरकारी निकायलाई कुनै जानकारी छैन । पहिले कुन क्षेत्रमा रोपिएको थियो, अहिले रोप्न आवश्यक क्षेत्रहरू कुन– कुन भन्ने पहिचान नभइ खाली महोत्सवका रूपमा जता खाली छ, त्यतै रोप्ने र फोटो खिचेर प्रचार प्रसार गर्ने मानसिकताबाट हामी माथि उठ्नु आवश्यक छ । पहिला जे भयो, अब नयाँ ढङ्गले जान्छौँ, रोप्छौ, भन्ने तर्कले कुनै प्रतिफल दिँदैन । पहिलेका गल्ती कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ ।
नत्र विरुवा रोप्ने जस्तो पवित्र कार्य पनि राजनीतिक अभिप्रायले प्रेरित छ भन्ने प्रश्न उठ्सक्छ । अहिले पहिले रोपिएका विरुवाको बारेमा कुनै पनि जानकारी छैन भन्दा आगामी पाँच वर्षपछि पनि पहिलोको खासै थाहा छैन, अब फेरि विरुपा रोप्छौँ भन्ने अवस्था नआउला भन्न सकिँदैन ।

रुख रोपेपछि त्यसलाई हुर्काउने जिम्मेवारी कसको भन्ने सम्बन्धमा पनि स्पष्टता हुन आवश्यक छ । अहिले ३ तहको सरकार छ र उनीहरूका आफ्नै मानवीय र आर्थिक स्रोतहरू छन् । रुख हुर्काउने सवालमा कस्तो समन्वय हुन्छ भन्ने विषयमा समेत अहिले नै स्पष्टताको जरुरी छ । सबै व्यवस्थापन सरकारले मात्र गर्न सक्दैन, त्यसैले निजी क्षेत्रलाई विरुवाको संरक्षणमा कसरी सहभागिता गराउने भन्ने सम्बन्धमा पनि स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।
भारत, चीन, पाकिस्तान लगायतका मुलुकले करोडौ विरुवा रोप्ने कार्य अगाडी बढाएको समाचार वेला वेलामा आउने गर्दछ, हामीले पनि ति प्रयासहरुबाट अभिप्रेरित भएर कार्यक्रमहरु ल्याईरहेका छौ तर त्यसका लागि आवश्यक पर्ने आर्थिक स्रोत र जनशक्ति हामीले तयार पारेका छौ ? यो गम्भीर प्रश्न हो ।

त्यसैले वृक्षारोपणका सम्बन्धमा पहिले के के भयो ? कति रोपिए ? कति खर्च भयो ? अब कति रोपिँदैछ , कति खर्च हुँदैछ अनि त्यसलाई हुर्काउने सम्बन्धमा के कस्ता कदम चालिन्छ ? स्पष्टतका साथ जानुपर्छ । सरकरको यो अभियानलाई सबैले साथ दिनुपर्छ तर यसलाई बिगतमा जस्तै प्रचारमुखी बनाइयो भने त्यसले सार्थक प्रतिफल दिन सक्दैन । हाम्रो एउटै उद्देश्य हुनुपर्छ, विरुवा रोप्ने र हुर्काउने । त्यसकारण हाम्रो उदेश्य भनेको रुख रोप्ने र त्यसलाई राम्रोसँग हुर्काउने हुनुपर्छ अनि मात्र हाम्रो प्रयासले सार्थकता प्राप्त गर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार