हिल्सामा रोकिएका भारतीय तीर्थयात्री र ट्रेकिङ एजेन्सीको विवाद मिल्योे

काठमाडौँ – ट्रेकिङ एजेन्सीसँगको विवादका कारण तीन दिन देखि हुम्लाको हिल्सामा रोकिएका २ सय भारतीय तीर्थयात्री नेपालगञ्ज फर्केका छन्।

तिब्बतस्थित कैलाश मानसरोवरबाट फर्केका भारतीय तीर्थयात्री र ट्रेकिङ एजेन्सीबीच पैसा कसले तिर्ने भन्ने विषयमा विवाद भएपछि करिव २ सय तीर्थयात्री हिल्लामै रोकिएका थिए।

तीर्थयात्री बोकेर आएको भारतीय ट्राभल एजेन्सी म्याक्स वेलले नेपालमा तिर्नुपर्ने विभिन्न शुल्क तिर्न नमानेपछि विवाद श्रृजना भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए।

उक्त विवादका कारण तीर्थयात्रीहरू चीन र नेपालको सीमा रहेको हिल्सामै रोकिएका थिए। भारतीय दूतावाससँगको समन्वयमा उक्त विवाद समाधान भएपछि उनीहरू नेपालगञ्जतर्फ लागेको हुम्लाका प्रजिअ ढकाल बताउँछन्।

‘कैलाश मानसरोवरबाट फर्किदा तिर्नुपर्ने विभिन्न सेवाशुल्कको विषयमा विवाद उत्पन्न भएपछि उनीहरू यही रोकिएका थिए,’ उनले भने, ‘बुधबार भारतीय दूतावाससँगको समन्वयमा उनीहरूलाई नेपालगञ्ज पठाइएको छ।’

हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पवित्र धार्मिकस्थल कैलाश मानसरोवर जाने मुख्य सिजन जेठ र असार भएकाले यो सिजनमा नेपाल हुँदै बर्सेनी हजारौँ तीर्थयात्री त्यहाँ पुग्ने गर्छन्।

चीनबाट सहजै पुग्न सकिने उक्त स्थानमा हाल नेपालबाट जानको लागि भने हुम्ला मात्र एक मार्ग हो। पर्यटकीय तथा धार्मिक आकर्षकको केन्द्र कैलाश मानसरोवरको दर्शन गरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वासका कारण बर्सेनी त्यहाँ जानेको संख्या बढीरहेको छ।

भारतीय तथा अन्य देशका तीर्थयात्री नेपाली मार्ग हुँदै मानसरोवर पुग्ने भएकाले पछिल्लो समय जेठ र असारमा हुम्लामा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार