महेन्द्रनगर– वर्षौंदेखि डम्पिङ् साइटको व्यवस्थापन गर्न नसक्दा भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फोहोरमैला कार्यालय परिसरमै थुपार्ने गरेको छ।
नगरपालिकासँग फोहोर व्यवस्थापन गर्ने विकल्प नभएकाले कार्यालय परिसरमा फोहोरमैला थुपारेर नष्ट गर्ने गरेको हो। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जग्गा खोज्न थालेको २१ वर्ष भयो। समयमै निर्णय गरेर कार्यान्वयन गर्न नसक्दा नगरपालिकाले आफ्नै कार्यालय परिसरमा बजारको फोहोरमैला थुपार्न थालेको स्थानीय बताउँछन्।
भीमदत्त नरपालिकाकाे कार्यालय परिसरमा फालिएकाे फाेहाेर । तस्बिर : हाेम याेगी
नगरपलिका परिसरमा फोहोर राख्दा स्थानीयको दैनिकी निकै कष्ठकर बन्न पुगेको छ। महेन्द्रनगरको बीच बजारमा रहेको भीमदत्त नगरपालिकाको कार्यालय परिसरमै थुपारिने फोहोरले बजार दुर्गन्धित भएको गल्ली नम्बर १ का स्थानीय हरिप्रसाद पौडेलले बताए । ‘नगरपालिकामा थुपारिएको फोहोरले बजार दुर्गन्धित भएको छ, यसले महामारी तथा विभिन्न किसिमका सङ्क्रमणको जोखिम छ,’ उनले भने । कार्यालय परिसरमा राखिएको फोहोरका कारण महेन्द्रनगर बजार क्षेत्र दुर्गन्धित भए पनि नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो नदेखाएको स्थानीय लालबहादुर थापाले बताए।
‘यो अवस्था देख्नुपर्दा ग्लानि हुन्छ, फोहोरको दुर्गन्धले सबैभन्दा बढी प्रभावित त कर्मचारी नै छौँ, दुर्गन्धले काम गर्न समेत समस्या भएको छ,’
‘नगरपालिकाले हरेक दिन बिहान बजारको फोहोर सङ्कलन गरेर कार्यालय परिसरमा राख्ने गरेको छ, यसरी फोहोर सङ्कलन गर्न थालेको ३/४ वर्ष भयो, अहिलेसम्म यो पक्रिया चलिरहेको छ,’ उनले भने। फोहोरको उचित व्यवस्थापनमा नगरपालिकाले सक्रियता नदेखाउँदा गर्मी याममा फोहोरबाट फैलिने आउँ, हैजा, पखालाजस्ता रोगको सङ्क्रमण देखिएको उनले बताए।
‘यहाँ नजिकै महाकाली अञ्चल अस्पताल र आँखा अस्पताल छ, बिरामी पनि समस्यामा परेका छन्, नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेर यो समस्याको समयमै समाधान गर्नु आवश्यक छ,’ उनले भने । नगरपालिकाले डम्पिङ् साइटको अभावमा ५ वर्षदेखि नगरपालिका कार्यालय परिसरमै फोहोर थुपार्दै आएको नगरपालिकाका सरसफाइ शाखाका प्रमुख पुष्पराज भट्टले बताए।
उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रबाट दैनिक ५ टनभन्दा बढी फोहोर सङ्कलन हुन्छ। ‘डम्पिङ साइटको अभावमा बजारबाट सङ्कलन गरेको फोहोर कार्यालय परिसरमा राख्ने गरेका छौँ, वर्षेनी फोहोरको मात्रा बढ्दै छ, फोहोर व्यवस्थापन गर्न धेरै चुनौती छ्,’ उनले भने। कार्यालयमा जम्मा भएको फोहोर समयसमयमा व्यवस्थापन गर्ने गरेको भट्टले बताए। ‘विभिन्न क्षेत्रमा खाल्डा भर्न माग भएमा त्यहांँ छोडने गरेका छौँ, अहिले खाल्डा भर्न ठूलो माग छ,’ उनले भने।
नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि पहल भइरहेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउँछन्। उनका अनुसार जैविक फोहोर व्यवस्थापनका लागि नगरपालिका परिसरमै बायो ग्याँस प्लान्ट निर्माण गरिएको छ। १५ लाखको लागतमा निर्माण गरिएको प्लान्टमा दैनिक डेढ क्वीन्टल फोहोर खपत भइरहेको सूचना अधिकारी धामीले बताए । उनका अनुसार उक्त प्लान्टबाट दैनिक ७ किलोग्राम ग्याँस उत्पादन भइरहेको छ। लेदोजन्य फोहोर व्यवस्थापनका लागि बायो ग्याँस प्लान्ट निर्माण गरेर सञ्चालनमा ल्याएको र त्यसबाट केही फोहोर खपत हुने उनको भनाइ छ।
नगरपालिकाले आवश्यकता हेरेर अन्य क्षेत्रमा पनि बायो ग्याँस प्लान्ट निर्माणको योजना बनाएको छ। नगरपालिका परिसरमा राखिएको फोहोरले सबैभन्दा बढी प्रभावित कर्मचारी भएको उनले बताए। ‘यो अवस्था देख्नुपर्दा ग्लानि हुन्छ, फोहोरको दुर्गन्धले सबैभन्दा बढी प्रभावित त कर्मचारी नै छौँ, दुर्गन्धले काम गर्न समेत समस्या भएको छ,’ उनले भने।
भीमदत्त नगरपालिकामा एसियाली विकास बैंकको क्षेत्रीय सहरी विकास आयोजना लागू भएको छ । उक्त आयोजनाको पहिलो सर्त एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र नै भएकाले यो कार्यक्रमसमेत प्रभावित हुने देखिएको छ । ३ अर्बको उक्त आयोजनामा फोहोरमैला व्यवस्थापनमा १ अर्ब बजेट छुट्याएको नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले बताए।
‘ठाउँ अभावकै कारण फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सकिरहेको छैन, सबै ठाउँमा स्थानीयको विरोध मात्रै भइरहेको छ,’ उनले भने, ‘फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसके आयोजना नै प्रभावित हुन्छ ।’ उनले फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाका ५/६ ठाउँमा सम्भाव्यता अध्ययन गरी स्थानीयसंँग छलफल भइरहेको बताए। ‘वडा नं. ८ तिलाचौर र ९ मटेनामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थानीयसंँग पटक–पटक छलफल भयो तर स्थानीयको विरोधका कारण हालसम्म काम अघि बढ्न नसकेपछि अहिले वडा नम्बर ३ का स्थानीयसँग छलफल भइरहेको छ,’ उनले भने, ‘स्थानीयले सहयोग गरे वडा नम्बर ३ मा फोहोर व्यवस्थापन केन्द्र निर्माण हुन्छ।’





