बढदै छ उपत्यकामा पानीको हाहाकार

ललितपुर महानगरपालिका– २६ की अस्सरा थापा(४०) लाई तीन वर्ष अघिसम्म पानीको कुनै दुःख थिएन । आफ्नै घरमा पर्याप्त खानेपानी उपलब्ध थियो ।

‘इनार र ढुङगेधाराको पानी जति प्रयोग गर्दा पनि कहिले सकिएन’ अस्सराले पाँच वर्ष अघिकोे अनुभव सुनाईन् । तर, अप्सराको यो विगत अहिले तीतो यथार्थमा परिणत भएको छ । पछिल्लो समयमा मेलम्ची खानेपानी परियोजनामा देखिएको केही प्रगतीले भने केही महिनापछि पानी पाइने आश उपत्यकावासीलाई छ ।

अस्सराले विगत तीन वर्षदेखि वडा नम्बर २६ नक्खुखोला नजिकै रहेको मुहानमा पानीकै लागि एक घण्टा हिड्ने कष्ट गरिरहेकी छन् । इनारमा आकलझुकल पानी आउँदा उनलाई ठूलो राहत हुन्छ तर चैतदेखि जेठ महिनासम्म इनारामा पनि थोपो पानी हुँदैन ।

‘यो खडेरी महिनामा इनारामा पनि पानी आउँदैन’उनले भनिन् ‘यहाँ आउन जान नै एक घण्टा लाग्छ ।’ यसअघि आफ्नो घरको इनारामा पानी कहिले सुकेको उनलाई याद छैन । तर विगत तीनवर्षदेखि उनको इनारामा पानी सुकेको छ भने नजिकैको बाह्रहिटी डुङगेघारा पनि सुकेको छ ।

‘अहिलेसम्म मैले यसरी इनारामा पानी सुकेको थाहा नै पाएकी थिईन् । अहिले त इनारामा पानी नै छैन । इनारामा पानी सुकेपछि धेरै दुःख पाएका छौ’,उनले भनिन्‘पहिला पानीका लागि यति दुःख नै थिएन । पहिला जति पानी चलाए पनि कहिले सुकेन अहिले त खानाका लागि समेत इनारामा पानी छैन ।’

उनले घना बस्तीसँगै वातावरण विगे्रेकाले पानीका मुहान सुक्न थालेको अनुमान गरिन् । ‘पहिला यती बस्ती नै थिएन । अहिले घना बस्ती हुन थालेसँगै पानीको मुहान सुक्दै गएको छ’उनले भनिन् ।

अस्सराले धारामा खानेपानी आउन छाडेपनि सबैले मुहानकै पानी खाने गरेको बताउँछिन् । ‘धारामा पानी आउँदैन । सबै जना मुहानकै पानी खान्छन् । यहाँको पानी एकदमै मिठो छ ।’ उनले भनिन् । अप्सरा जस्तै समस्या त्यो ठाउँमा प्रायजसो सबै मानिसहरुले भोगिरहेका छन् ।

खानेपानी लिन,लुगाधुन र नुहाई धुवाई गर्न नख्खु खोला नजिकै रहेको मुलमा आधाँ घण्टा हिडेर आउँछन् ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोटीका २६ वर्षीय सुमन राई ।

‘पहिला कहाँ यस्तो दुःख थियो र हजुर । पहिला त घरमै पानी आउँथियो जती पानी खर्च गरेर पनि लोभ लाग्दैन थियो’राईले भने । विगतका वर्षमा भन्दा आजभोली मुलको पानी समेत सुक्न थालेको राई बताउछन् ।

‘दुई वर्षदेखि यो मुहान पनि सुक्दै जान थालेको छ । पहिला ठुलो पानी आउँथियो अहिले सानो हुँदै गएको छ’राईले भने । उनले पानी लिन आउन दुःख भएपनि खानालाई पानी सफा भएकाले यही आउने गरेको बताउछन् ।

सोही ठाउँकी ४० वर्षीया फुलमाया सिंताङलाई पनि पानीकै दुःख छ । उनले पनि पानीकै लागि नक्खु खोलामा फुटेको मुहानमा आउँछिन् ।

‘घरमा खानेपानी मात्र आउँछ । त्यो पनि ठेगान हुँदैन’फुलमायाले भनिन् ‘नुहाउन,कपडा धुँन र पानीका लागि यहाँसम्म आइपुग्नुपर्छ ।’

सुनाकोटी,भैर्सीपार्टी,बुङमती,खोकना लगायतका स्थानका सबै मानिसहरु पानी लिन तथा कपडा धुन,नुहाउन नक्खु खोलाको मुहानमा जाने गरेको ४५ वर्षीय सुजेन्द्र थापा बताउँछन् । ‘पहिला त्यो पानीको मुहानको मतलब नै थिएन । तर अहिले त्यही मुहानले हाम्रो तिख्रा मेटाउँछ ।’