के–के छन् आजका दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आज वैशाख ११ गते काठमाडौंबाट प्रकाशित भएका पत्रपत्रिकाले वातावरणका मुद्दालाई त्यत्ति प्राथमिकता दिएका छैनन् । प्रमुख दैनिक अखबारमध्ये राजधानी दैनिकले मात्र वन र वातावरणको मुद्दालाई पहिलो पृष्ठमा राखेको छ ।

राजधानी र अन्नपूर्ण पोष्टले अन्य पत्रपत्रिकाको तुलनामा वातावरणीय मुद्दा समेटिएका समाचारहरुले बढी स्थान दिएका छन् । ‘वन क्षेत्रको जग्गा अतिक्रमण धेरै फिर्ता नगण्य’ शिर्षकको समाचार राजधानीको पहिलो पृष्ठमा प्रकाशित भएको छ । सविन शर्माले लेखेको यो समाचारमा वन, आरक्षण क्षेत्रको जग्गा अतिक्रमणका तुलनामा फिर्ता लिने काम नगण्य रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख भएको प्रसङ्ग उठाइएको छ ।

९८ हजार १ सय ९ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले काठको मूल्य निर्धारण मनपरी भएको पनि औल्याएको छ । यसैगरी राजधानीले नै ‘सगरमाथामा प्रदुषण नगरौँ’ शिर्षकको प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसमा बोलेको खबर प्रकाशित गरेको छ ।

आगलागी रोक्न अग्निरेखा शिर्षकको नेपालगंजबाट आएको खबर पनि राजधानीमा छ । यो खबरका अनुसार बाँके राष्ट्रिय निकुञ्जले आगलागीको जोखिम कम गर्न निकुञ्ज क्षेत्रको १ सय ४० किलोमिटर अग्नीरेखा निर्माण गरेको हो । यस्तै ‘उपभोक्ता समितीहरुवीच १२ बुँदे सहमती’ शिर्षकको समाचार पनि राजधानीमै छ । नवलपरासीका निकुञ्ज प्रभावित वासिन्दा र मध्यवर्ती उपभोक्ता समितीहरुवीच १२ बुँदे सहमती भएपछि नवलपरासीका मध्यवर्ती उपभोक्ता समितीको कार्यलयमा लगाइएको ताला सोमबारदेखी खुलेको छ ।

नयाँ पत्रिका दैनिकमा सर्वोच्चद्धारा जलवायु परिवर्तनसम्बन्धि गतिविधीको लिखित जवाफ माग शिर्षकको समाचार छापीएको । सर्वोच्च अदालतले जलवायु परिवर्तन न्युनिकरणमाथि भइरहेको गतिविधीबारे वातावरण विभागसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्चले जलवायु परिवर्तन नीति ०६७ र राष्ट्रिय अनुकूलन कार्यक्रम लागू भए पनि जलवायु परिवर्तनको असर र त्यसको प्रभावका विषयमा सम्बन्धित क्षेत्रमा कार्यक्रम पुग्न नसक्नुको कारण पेस गर्न भनेको छ ।

गोरखापत्र दैनिकमा सरकारले काठमान्डौँ उपत्यकाको खानेपानीको मार्गलाई ध्यान दिँदै याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको खबर प्रकाशित गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमान्डौँ उपत्यका भित्रउने महत्वाकाङ्क्षी योजना अन्तिम चरणमा पुगेका बेला दैनिक थप ३४ करोड लिटर पानी आपुर्ति गर्नका लागी दोस्रो चरणको कार्य सुरु गरिएको हो ।

कान्तिपुर दैनिकमा ‘राहत पर्खाइमा असिनापीडित’ शिर्षकको समाचार प्रकाशित छ । यो खबर कालिकोटको हो । कालिकोट खाँडाचक्रमा गएको चैत १७ र २७ गते परेको असिनाले त्यहाँका अधिकांश कृषक पीडित भएका थिए । कृषकका गहुँ, जौ , मसुरो र तरकारीमा ठूलो क्षती पुगेको थियो ।

अन्नपूर्ण दैनिकमा पोखराबाट कृष्णमणि बरालले ‘मानव–वन्यजन्तु द्वन्द्व’ शिर्षकको समाचार लेखेका छन् । उनले लेखेको खबरमा पश्चिमाञ्चलमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट एक वर्षभित्रै ४ जनाको मृत्यु र ११ जना घाइते भएको जनाइएको छ । यसैगरी, जनकुपुर अञ्चल अस्पतालमा फोहोर हुँदा यसको प्रत्यक्ष मारमा बिरामी परेको कुरालाई सन्तोष यादबले जनकपुर अस्पतालमा फोहोरले सास्ती शिर्षकको समाचार बनाएका छन् ।

यस्तै अन्नपूर्ण दैनिकमा भोजपुरबाट प्रदीपचन्द्र राईले ‘मैयुङ डाँडामा गुराँसले लोभ्यायो ’शिर्षकको समाचार लेखेका छन् । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये अधिकांश यहाँ पाइने कुरा खबरमा उल्लेख छ । यस्तै ‘एक घर, एक धारा नारामै सीमित’ शिर्षकको पर्वत कुस्माका नगरवासीले खानेपानीको समस्या भोगेको खबर अन्नपूर्णमा माया अधिकारी लेख्छिन् ।नागरिकले आज कुनै वातावरण सम्बन्धि समाचार प्रकाशन गरेको छैन ।