देशभर ११ प्रतिशत रोपाइँ सकियो, गतवर्षको तुलनामा ३ प्रतिशत कम

काठमाडौँ – धान रोप्ने सिजन शुरु भएपनि देशभर हालसम्म ११ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार असार ११ गतेसम्म धान राेपिने जमिन मध्ये ११.६४ प्रतिशतमा मात्र रोपाइँ भएको हाे । हाकाहाकीसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले देशभर हालसम्म भएकाे धान राेपाइँ गत वर्षकाे तुलनामा ३ प्रतिशतले कम भएको बताए।

उनका अनुसार गत वर्ष असारको दोश्रो सातासम्ममा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। अरेवियन सागरमा बनेको चक्रपात(वायु)को प्रभावका कारण नेपालमा मनसुन भित्रन ढिलो भएसँगै रोपाइँमा पनि कमी आएको उनको भनाइ छ।

कृषि मन्त्रालयका अनुसार धान रोपाइँ हुने भू–भागको २५ प्रतिशत जमिनमा आकाशे पानीकै भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ भने खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतमा सिँचाइको सुविधा छ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३० लाख ९१ हजार हेक्टर जमिनमा मात्र खेती गरिँदै आएको छ। बाँकी १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ।

ताजा समाचार

सम्बन्धित समाचार